ताजा अपडेट »

गुल्मीमा ‘मौसमी कामदार’को लोभ देखाएर जनप्रतिनिधि नै भोट माग्न सक्रिय

विहीबार, ०१ मंसिर २०७९

बुटवल । गुल्मी क्षेत्र नम्वर २मा गठबन्धनका उम्मेदवारले भोट माग्न गैरकानुनी लोभ देखाएको भेटिएको छ । गठबन्धनका प्रदेश सभाका उम्मेदवार बुद्धि जिसी, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल सहितका नेता कार्यकर्ताले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुलाई लोभ देखाउँदै भोट मागेको युवाहरुले बताएका छन् ।

केहि समय अगाडि धुर्कोट गाउँपालिकाले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने भन्दै युवाहरुको नाम संकलन गरेको थियो । यद्यपी त्यो काम गैरकानुनी थियो । पछि काठमाडौंको एक एजुकेशन कन्सल्टेन्सी मार्फत युवाको डकुमेण्ट र पैसा संकलन गरि सेटिङमा केहि युवालाई कोरिया पठाइएको थियो । श्रम विभागमा समेत यो विषयमा उजुरी परेपछि श्रम मन्त्रालयले गैरकानुनी रुपमा युवा पठाउन नपाइने भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको थियो ।

धुर्कोट गाउँपालिकाका झण्डै ५० युवाको २ करोड बढी पैसा दलालले उठाएर विचल्ली बनाएको अवस्था छ । तर चुनावको मुखमा गाउँ पालिकालाई देखाउँदै प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले गैरकानुनी काम गर्ने, आश्वासन दिएर फेरि भोट मागेको युवाहरुले बताएका छन् ।