ताजा अपडेट »

रुपन्देही-२ मा सत्ता गठबन्धनलाई समर्थन गरेको भनेर भ्रम छरेको भन्दै लौरो अभियानको आपत्ति (भिडियोसहित)

विहीबार, ०१ मंसिर २०७९

काठमाडौं । ‘लौरो अभियान’ का नामले परिचित हाम्रो नेपाली पार्टीले आफूहरूको अभियानलाई बदनाम गराउने नियतले भ्रामक हल्ला चलाइएको भन्दै आपत्ति जनाएको छ । हाम्रो नेपाली पार्टीका प्रवक्ता ई. डिल्लिश्वोर कार्की ‘रोहन’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सावैजनिक गर्दै कुनै दल वा गठबन्धनका उम्मेदवारलाई समर्थन, तालमेल गरेको भनेर आइरहेका समाचारहरू निराधार रहेको भनेर विज्ञप्ति समेत निकालिएको जानकारी गराएका छन् ।

रुपन्देही २ मा सत्तागठबन्धनका उम्मेदवार जनमुक्तिका केशवबहादुर थापा मगरलाई लौरो अभियानको समर्थन रहेको भनी मिडियाबाजी गरेपछि आफूहरू प्रष्टीकरण दिन बाध्य भएको प्रवक्ता कार्कीले बताए । थापा एमालेका विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी हुन् । ‘सत्ताको आडमा गठबन्धनले कुप्रचार गरेको छ । यसबाट हाम्रो अभियानमाथि अविश्वास गराउन खोजिएको छ’, उनले भने ।

लौरो अभियानले स्वतन्त्र उम्मेदवारबाहेक कसैलाइ पनि समर्थन गर्ने कुरा सिद्दान्तमै नरहेको बताउँदै उनले देशैभरि स्वतन्त्रहरूलाई समर्थन गरिसकेको र गर्न बाँकी ठाउँमा समेत सक्षम स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नेबारे छलफल भइरहेको उनले बताएका छन्

महामन्त्री तुलसिराम भुसालको नाममा गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको भनेर प्रचार गरिएको भन्दै भुसालले हाम्रो नेपाली पार्टीको तथा लौरो अभियानको साधारण सदस्यसमेत नरहेको साथै चिन्दै नचिनेको प्रवक्ता कार्कीले बताएका छन् ।