ताजा अपडेट »

नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य बनाउने तयारी

आइतबार, ०६ पुस २०७६

पुस ६,

काठमाण्डौं । प्रदेश-१ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए। यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरू सक्रिय रूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवर्द्धन समितिको बैठकमा उनले यस्तो जानकारी दिए।

मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं भव्य बनाउन बाँकी रहेका सबै कामलाई समेत द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिए। रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजारको सहभागिता गराइनुका साथै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए। एयर बेलुनबाट नेपाल भ्रमण वर्ष २०२० को झण्डा फहराइनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने पनि कार्यक्रम रहेको छ।

उद्घाटनपूर्व साइकल/मोटरसाइकल र्‍याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्नेसमेत तयारी पूर्ण भएको मूल समारोह व्यवस्थापन उपसमितिले जनाएको छ। पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहनुभएका मन्त्री कुसियतले उद्घाटनलाई भव्य बनाउन हालसम्म भएका प्रगतिका विषयमा समेत उपसमितिसँग छलफल गरेका थिए। उक्त अवसरमा उपसमितिका संयोजकहरूले आ-आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका विषयमा जानकारी गराएका थिए।

भ्रमण वर्ष सफल बनाउन सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ उपसमिति बनाइएका छन्। मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन पुस १६ गते गर्ने मूल समितिले जनाएको छ।-रासस