ताजा अपडेट »

साच्चै खुकुरी लिएर चोकमा आउन नपरोस् : स्वतन्त्र उम्मेद्वार रुपसिंह थापा

आइतबार, २७ कार्तिक २०७९

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–२ बाट उम्मेद्वार रहेका रुपसिंह थापाले बुटवलमा आमसभा गरेका छन्। आइतबार बुटवलको ट्रफिकचोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले खुकुरी लिएर चोकमा आउन नपरोस् भन्दै चेतावनी दिए ।

उनले नेतृत्वमा रहेका दल र नेताहरुले पटक–पटक गल्ती गर्दा देश पछाडि परेको भन्दै भोलिका दिनमा खुकुरी चिन्ह छाडेर खुकुरीनै बोकेर चोकमा आउन नपरोस् भन्दै आक्रोश पाखेका हुन् ।

आफूले पहिल्यैपनि विभिन्न संघसंस्था नेतृत्व गरेको र आगामी दिनमा पनि जनताको प्रतिनिधि भएर नेतृत्व गर्न चाहेको बताउँदै खुकुरी चिन्हमा मतदान गर्न आग्रह गरे । उनले भने‘ देशमा ठूला पार्टी र नेताले पटक–पटक गल्ती गरे तर,पनि उनीहरु आत्मलोचना गर्दैनन् । पटक–पटक गल्ती गर्नेलाई किन छुट दिने ?, अब किन जिताउने ? खुकुरी चिन्हमा भोट दिनुहोस्, मलाई जिताउनुहोस् । मैले धेरै संघसंस्थाको नेतृत्व गरेको छु ।’

आफ्नो पार्टीले निर्वाचनलाई नस्विकारेपनि आफू छुट्टिएर स्वतन्त्र चुनावमा आएको बताउँदै उनले अहिले स्वतन्त्रहरुलाई जनताले जिताउने दावी गरे । उनले भने‘ आफ्नो क्षेत्र र देशको शान्ति र विकासका लागि अब कुनै दल भनेर बस्ने होइन,एउटा स्वतन्त्र उम्मेद्वार बालेनको कामबाट म खुशी छु । खुकुरी चिन्ह लिएर निर्वाचनमा होमिएको छु । यदि भोलि अवस्था सुध्रिएन भने खुकुरीनै लिएर चोकमा आउने छु । परिवर्तनकै लागि वीरताको चिनो खुकुरी चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा आएको छु । अब परिवर्तनको खाँचो छ ।’