पुस ५,
बुटवल । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार एक बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आएर चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै मौसमविद्का अनुसार तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । पश्चिमी भू-भागलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी/हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । आइतबार देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार देशका पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ । -उज्यालोको सहयोगमा
प्रतिक्रिया