ताजा अपडेट »

पार्टी र उम्मेद्वारले अनलाइन मिडियामा विज्ञापन गर्न पाउने

विहीबार, २४ कार्तिक २०७९

काठमाडौं। निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ।

निर्वाचन आचारसंहिता, २०७९ को अधिनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्णयमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था रहेको छ।

त्यस्तै राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचार–प्रसार गराउन सक्ने निर्णय गरेको छ।

आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने रहेको छ।

आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको मानिने छ।