ताजा अपडेट »

पाल्पा-२ : ‘नो नट अगेन’को अभियानले ठाकुर गैरे ‘कम्फर्ट जोन’मा

विहीबार, २४ कार्तिक २०७९
1 Shares

बुटवल । विद्यार्थी राजनीतिबाट उदाएका पाल्पाका एमाले युवा नेता ठाकुर गैरे यतिबेला चुनावी अभियानमा व्यस्त छन् । पाल्पा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार गैरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ४४ वटा वडामा पुगेर भेटघाट गर्ने अभियानलाई तिब्रता दिएको बताएका छन् । अभियानकै क्रममा मँगलबार बुटवलमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले पाल्पामा चुनाव जित्ने आधार बलियो हुँदै गएको दाबी गरे । ‘संसदीय चुनावमा आफू उम्मेदवार भएर मत मागेको पहिलो अनुभव हो । तर, जब म गाउँ पसे मतदाताका प्रतिक्रियाले अत्यन्तै उत्साहित बनाएको छ ।’–गैरेले भने, विगतमा अरुलाई जिताउन गाउँ पुग्ने व्यक्ति आफै उम्मेदवार भएर अगाडी उभिँदा जनताले थप फराकिलो उत्साहजनक मनले स्वागत गर्नुभएको छ । गाउँको यात्राले थकित शरिरमा पनि उज्यालो अनुहार लिएर सञ्चारकर्मी समक्ष आएका गैरेले निर्वाचन आफ्ना लागि सहज हुँदै गएको दाबी गरे ।

एमालेभित्र रहँदा सदाबहादर उम्मेदवार पूर्व मन्त्री सोमप्रसाद पाण्डेयसँग चुनावी प्रतिस्पर्धामा रहेका गैरेका लागि एउटै चुनौती हो, संसदीय निर्वाचनमा पहिलो अभ्यास । वि.स. २०५३ सालदेखि नै सदाबहार उम्मेदवारको रुपमा रहँदै आएका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेय सत्ता गठबन्धन दलकोतर्फबाट उम्मेदवार छन् । संसदीय अभ्यासमा लामो अनुभव गरेका पाण्डेयको यसपटकको आफ्नै मत भने बलियो छैन । गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनको पार्टीले वडा अध्यक्षहरुमा प्राप्त गरेको जम्मा मत नै मात्र ४३३ हो । जुन निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या १ लाख ५ हजार रहेको छ । मत सङ्ख्या निकै कम भएर पनि पार्टी अध्यक्ष माधवकुमार नेपालको सम्धि भएकै कारण ठूलो बार्गेनिङपछि बलियो जनाधार भएको नेपाली काँग्रेसलाई टिकट नदिएर पाण्डेयलाई टिकट दिने निर्णयमा सत्ता गठबन्धन पुगेको थियो । बलियो जनाधार हुँदाहुँदै पनि आफ्नो दलको उम्मेदवार नपाएपछि पाल्पा–२ का काँग्रेसका मतदाताबाट पाण्डेयले सम्पूर्ण मत पाउने सम्भावना त्यति बलियो भने देखिएको छैन ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो । वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ५३६ मत पाएको छ । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको छ । पाण्डेयलाई यसपटक चुनाव जित्न त्यति सहज छैन । संगठनात्मक भोट कम रहेकाले एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि छ ।

छैटौ पटक चुनावी मैदानमा उत्रिएका पाण्डे र पहिलो पटक चुनावी मैदानमा उभिएका गैरे बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा युवाहरुमा देखिएको ‘नो नट अगेन’ को अभियानले गैरे कम्फर्ट जोनमा भएको दाबी गर्छन् । पटक–पटकका संसदीय निर्वाचन जितेर गएका पाण्डेयलाई अब बिस्राम दिनुपर्ने पक्षमा पाल्पाली मतदाता रहेको देखिन्छ । नयाँ र युवा अनुहारको खोजिमा रहेका मतदाताका लागि ठाकुर गैरे नै उपयुक्त बिकल्प हुने भएकाले उनी सुरक्षित देखिएका हुन् ।

भौतिक पूर्वाधार तथा बिकासका हिसाबले तराईका छिमेकी जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलवस्तु मात्र होइन पहाडका छिमेकी जिल्ला गुल्मी, अर्घाखाँचीभन्दा पनि पछि परेको पाल्पालाई अब नयाँ नेतृत्व आवश्यक रहेको यहाँका युवाहरुले बताउने गरेका छन् । विभिन्न सामाजिक सञ्जालहरुमा समेत विगत ३० वर्षदेखि पाल्पाको नेतृत्व गरेका पात्रहरुले सन्तोषजनक बिकास गर्न नसक्दा अबको नेतृत्व नयाँ अनुहारलाई दिनुपर्छ भन्ने पक्षमा उनीहरु देखिन्छन् ।

पटक–पटक सांसददेखि मन्त्रीसम्म हुँदै आएका पोण्डेयले जनताले महशुस गर्नेगरी कुनै बिकासका योजना नल्याएका कारण पनि नयाँ अनुहारप्रति जनताको आकर्ष हुन सक्ने अनुमान गरिएको छ । २ नम्बर क्षेत्रमा पर्ने पश्चिम पाल्पा बिकासको हिसाबले पनि कमजोर र पूर्वाधार निर्माणमा नगन्य अवस्थाले जनताहरुले नयाँ अनुसारलाई जिताउने एमाले नेताहरु बताउँछन् । यसैगरी पाल्पा–२ विगतदेखि एमालेको पकड रहेको र युवा नेता भएकाले गैरेको जीत सहज रहेको एमाले जिल्ला अध्यक्ष धनेन्द्र घिमिरेको दाबी छ । गठबन्धनको मत नै आफ्नो जीतको आधार भएको पाण्डेय दाबी गर्छन् । पाल्पामा एमालेसँग प्रमुख प्रतिस्पर्धी मानिएको नेपाली काँग्रेससँगै नेकपा माओवादी केन्द्रको साथले समाजवादीका नेता पाण्डेयलाई जित सहज भएको उनको दाबी छ ।