पुस ४,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ५९ औं वार्षिक उत्सवको अवसर पारी आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेल समृद्धिको आधार भएको बताएका छन् । खेल विगतमा रमाउनका लागि खेलिने भएपनि अहिले पहिचान र समृद्धिका लागि खेलिने गरेको बताए ।
मन्त्री बरालले विद्यालयले गर्ने खेलकुद प्रतियोगिताहरुले विद्यार्थीहरुको खेलप्रतिको विकास र मनोवल समेत उच्च बनाउन सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमहरुको आयोजना गर्न आग्रह गरे । उनले खेलको माध्यमबाट प्रदेशलाई मुलुककै अब्बल प्रदेश बनाउन मद्वत पुग्ने बताँउदै खेलको विकासमा प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै विद्यालयका प्राचार्य धनश्याम पाठकले कालिका स्कुलले विद्यालयसँगै नगरभरिको खेलकूद बिकास लागि प्रतियोगिताको आयोजना गरिएको बताए । शैक्षिक विकासका लागि खेलकूदको पनि महत्वपूर्ण भूमिका रहने भएकाले यी दुई एक आपसका परिपूरक हुन भन्ने बुझ्नुपर्ने बताए । उद्घाटनको अवसरमा विद्यार्थीहरुले मार्च पास समेत गरेका थिए ।

कालिका रनिङ् शिल्डमा १४ स्वर्ण, १४ रजत र १४ कास्य गरी कुल ४२ पदकका लागि प्रतिस्पर्धा हुने छ । रनिङ् शिल्ड अन्तर्गत अन्तर मा.वि.नगर स्तरीय भलिबल छात्र–छात्रा, अन्तर मा.वि. नगरस्तरीय कबड्डी छात्र–छात्रा, एथलेटिक्स ट्रयाक छात्रहरुको लागि ८ सय, १ हजार ५ सय र ५ हजार मिटरको प्रतिस्पर्धा हुने छ । छात्राहरुको लागि ८ सय, १ हजार ५ सय र ३ हजार मिटरको एथलेटिक्स ट्रयाकमा प्रतिस्पर्धा गर्ने छन् । छात्र–छात्राका लागि फिल्ड तर्फ लङ्जम्प, सटफुट प्रतियोगिताहरु रहेका छन् । प्रतियोगितामा आयोजना गरीएको विभिन्न १४ वटा इभेन्ट्समा सबै भन्दा बढी स्वर्ण, रजत र कास्य जित्ने विद्यालयलाई रनिङ् शिल्ड प्रदान गरिने छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ५० हजारसहित रनिङ् शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसेगरी द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार र २० हजारसहित रनिङ् शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका विजेताहरुलाई वार्षिक उत्सवको मूल समारोह पुस ७ गतेका दिन पुस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया