अर्घाखाँची । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले समाजवाद र पूँजीवादमा जनताले समाजवाद रोज्ने दावी गरे । उनले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले पूँजीवाद अंगालेको र एमालेले समाजवाद बोकेको हुँदा जनताले समाजवाद रोज्ने र त्यसको सुरुवात अर्घाखाँचीबाट भएको उल्लेख गरे । सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने ‘जनताले समाजवाद चोहका छन् । सत्तारुढ गठबन्धनले पूँजीवाद अंगालेको छ । ‘समृद्ध नेपाल सुखी जनता’ को नारा र एजेण्डा लिएर बगाडि बढेको नेकपा एमालेले मात्रै मुलुकमा विकास र समृद्धि ल्याउन सक्छ । पूँजीवादमा धनि झनै धनि हुँदै जाने र गरिब, गरिबनै रहने अवस्था हुन्छ । तसर्थ सम्पन्न स्थानीय तह निर्वाचनमा अर्घाखाँचीको जनताले एमालेलाई रोजेका छन्, अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि रोज्नेछन् ।’
उनले सत्तारुढ गठबन्धन विकासविरोधी भएको आरोप लगाए । तत्कालिन एमालेले ल्याएका योजना र बजेट कटौती गरेर विकासमा अवरोध ल्याएको भन्दै आक्रोश समेत पोखे । उनले भने ‘ एमालेको समृद्ध नेपाल सुखी नेपालीको नारा लिई सोहीअनुसार अगाडि बढेपछि उहाँहरु एजेण्डाविहिन हुनुभयो जसले गर्दा अस्तित्वको संकट पर्यो । ५ दलभन्दा बढी हुनुहुन्छ तर, साझा एजेण्डा छैन ।’
उनले गठबन्धनमा सबैका आ–आफ्ना एजेण्डा भएको हुँदा ककटेल भएको बताए । ‘सबैका आ–आफ्ना एजेण्डा छन्, ककटेल जस्तो । कसले कसको मान्ने ? एमालेसँग एजेण्डा छन्, एमालेसँग विकासका योजना छन् । अब एमालेलाई एक्लै पराजित गर्न सकिँदैन भनेर गठबन्धन गरे । सत्ता विपक्षीविरुद्ध गठबन्धन गर्ने ? दुनियाँमा यस्तो कहीँ हुन्छ ?’ अब जनताले बुझेका छन् । मुलुक विकासका लागि एजेण्डा भएको र समाजवादउन्मुख दल नेकपा एमालेनै हो । त्यसैले आगामी निर्वाचनमा एमालेको बहुमत आउने छ।’
प्रतिक्रिया