ताजा अपडेट »

रुपन्देही –३ : राप्रपासहित तीनदलिय तालमेलको मिडियामैत्री प्रतिवद्धता

शनिबार, १९ कार्तिक २०७९


भैरहवा । नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादीको साझा उम्मेदवारको रुपमा रहेका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवारले सञ्चारको क्षेत्रमा विशेष काम गर्नेगरी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

तीन दलिय तालमेलका तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, प्रदेश सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव र तुलसी चौधरीकोलागि मत माग्दै संयुक्त प्रचार प्रसार समितीले विभिन्न शीर्षकमा १३० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्रको सूचना तथा सञ्चार शीर्षकमा ‘प्रेसलाई पूर्ण स्वतन्त्र राखिनेछ भने आम सञ्चारलाई व्यवसायीक र जिम्मेवार बनाइने छ ।’ भनी उल्लेख गरिएको छ ।

यसैगरी प्रत्येक नागरिकहरुमा आधुनकि सूचना तथा सञ्चारको पहुँचमा वृृद्धि गरिनेछ भनी उल्लेख गरिएको छ । यसैगरी लुम्बिनी प्रेस क्लबको भौतिक विकास र नेपाल पत्रकार महासंघको लागि आवश्यक सहयोग गरिनेगरी योजना सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा रुपन्देहीका पत्रकारहरुकोलागि विकास र सुशासन सम्बन्धी पत्रकारिता तालिम तथा फेलोसीपको व्यवस्था गरिने उल्लेख छ भने सार्वजनिक क्षेत्रमा फ्री वाईफाई जोनको व्यवस्था गरिने उल्लेख छ।

प्रतिवद्धतापत्रमा सञ्चार क्षेत्रलाई राज्यकोषबाट विशेष सहयोगको व्यवस्था गर्दै यस क्षेत्रलाइ मिडिया तथा अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।

प्रतिवद्धतापत्र मस्यौदा निर्माण समितिका संयोजक सिए शिबहरी शर्माले भैरहवामा पत्रकारिता अनुसन्धान प्रतिष्ठानकोलागि सहयोग गर्ने तथा अग्रज पत्रकारहरुकोलागि सामाजिक सुरक्षा पेन्सन योजनामा सहयोग गरिनेगरी सन्चार क्षेत्रमा काम गर्ने योजना ल्याइएको बताए ।

संयुक्त निर्वाचन परिचालन समितिका रुपन्देही ३(१) को सहसंयोजक अजय कुमार गुप्ताका अनुसार तीन दलिय तालमेलका साझा उम्मेदवार दीपक बोहोरालाई हलो, महेन्द्र यादवलाई छाता र तुलसी चौधरीको सुर्य चिन्हमा मतदान गर्न अपील गरेका छन् । उनले भने, हामीले मिडिया मैत्री कार्यक्रम सार्वजनिक गरेका छौं । राज्यको चौथो अंगको रुपमा रहेको मिडीयाको विकास र निष्पक्ष तथा स्वतन्त्रताकोलागि हाम्रो तर्फबाट पूर्ण ग्यारेन्टीको व्यवस्था गरेका छौ. ।

उता कांग्रेस नेतृत्वको ५ दलिय गठबन्धनले सार्वजनिक गरेको ६७ बुँदे संकल्पपत्रमा मिडियाको विषयमा कुनैपनि सम्बोधन गरिएको छैन । सो विषयमा पत्रकारहरुले नै संकल्प पत्र सार्वजनिक कार्यक्रममा ५ दलिय गठबन्धनले मिडीयालाई सम्बोधन किन नगरको भन्दै टिप्पणी गरेपछि त्यसलाई सम्बोधन गरिने मस्यौदा समितिका संयोजक प्राध्यापक सुदर्शन नेपालले बताएका छन् ।