ताजा अपडेट »

'मृत्युदण्ड'अघि नै मुशरर्फको मृत्यु भए पनि शवलाई ३ दिनसम्म झुण्ड्याउनू : अदालत

शुक्रबार, ०४ पुस २०७६

पुस ४,

काठमाडौं । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्काे निर्णय सुनाएको छ ।  अदालतले भनेको छ - ‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू’ । 

गएको मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् ।   मृत्युदण्ड दिनुअघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् । फैसलाका अनुसार, ‘भाग्ने र दोषी साबित भएकालाई गिरफ्तार गर्नका लागि पूरै शक्ति प्रयोग गर्न र कानुनअनुसार सजाय दिन हामी कानुन प्रवर्तक एजेन्सीहरुलाई निर्देश दिन्छौँ । यदि उनी मृत भेटिएको अवस्थामा उनको लाश इस्लामावादको डी चोकमा तीनदिनसम्म झुण्ड्याउनू ।'   

अदालतको यस्तो निर्णयपछि मुशर्रफका समर्थकहरुले देशका विभिन्न भागमा उनको समर्थनमा र्‍याली निकालेका छन् । मुशर्रफमाथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधानविरुद्ध आपतकाल घोषणा गरेको र देशद्रोहको आरोप छ । यद्यपि पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देशद्रोही भन्न नसकिने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको छ ।  -एजेन्सी