बुटवल । अधूरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे ।
शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा भएको घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीसंग मतदाताले भौतिक विकास र मानवीय विकासलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे । उनीहरुले सडक निर्माण, नाली तथा ढलको निकास, स्वास्थ्य र शिक्षामा नयाँ आयम ल्याउने गरी काम गर्नसमेत उम्मेदवार गिरीलाई मतदाताको आग्रह थियो ।
मतदाताको सुझावपछि नेता गिरीले एमाले सरकारमा रहँदा वा नरहँदा जनताको पक्षमा सधै रहेको बताउँदै एमाले नेतृत्वको सरकार निर्माणपछि देशमा सुशासन, आर्थिक समृद्धिको नयाँ बाटो तय हुने बताए । साथै उनले स्थानीय तहमा हुने गरेका समस्याहरुलाई सरकार निर्माण हुन साथ सुरु गर्ने बताए । उनले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।
उनले सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समधान एमालेले पहिलो प्राथमिकतामा राखेर गर्ने बताए ।एमाले नेतृत्वको सरकार भूमि आयोग गठन गरेर लालपूर्जा वितरण गर्नै लाग्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गर्दै उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या एमालेले मात्र पूरा गर्ने बताए ।
पूर्वमन्त्रीसमेत रहेका गिरीले तिलोत्तमा वडा नं. ३ मा खेलपूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर योजना अघि बढाउने बताए । ‘हामीले तत्काल गर्नसक्ने कामलाई पहिलो प्राथमिकतामा राख्नेछौ । त्यसपछि क्रमशः ड्रिम योजनाहरु निर्माण हुनेछन् । त्यसपछि विकासले कायापलट हुनेछ ।’ उनले भने ।
प्रतिक्रिया