ताजा अपडेट »

अस्ट्रेलिया डढेलो प्रकोप: प्रधानमन्त्री मोरिसनले मागे माफी

शुक्रबार, ०४ पुस २०७६

पुस ४,

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले देशमा भीषण डढेलोको प्रकोप भएका बेला आफू बिदा मनाउन अमेरिका गएकोप्रति क्षमा माग्दै दु:ख प्रकट गरेका छन्। यो साता अस्ट्रेलियामा विभिन्न क्षेत्रमा डढेलो फैलिरहँदा प्रधानमन्त्री मरिसन भने अमेरिकाको हवाईमा बिदा मनाउन गएका थिए। अग्निनियन्त्रकहरू कम्तीमा १०० वटा विभिन्न ठाउँमा फैलिएका डढेलो निभाउन सङ्घर्षरत छन्। ती डढेलो फैलिँदै गर्दा अस्ट्रेलियाले यसै साता सबभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमान बेहोरेको छ। सिड्नीको दक्षिण पश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई स्वयंसेवी अग्निनियन्त्रकको ज्यान समेत गएको छ।

न्यू साउथ वेल्सको अग्निनियन्त्रण सेवाका तीन सदस्यहरू रहेको ट्रक माथिबाट झर्दै गरेको रूख छल्न खोज्दा भीरबाट खसेको थियो। तापक्रम बढिरहँदा न्यू साउथ वेल्समा सङ्कटकाल घोषणा गरिएको छ। ठाउँठाउँमा डढेलोका कारण सिड्नी सहरमा उत्पन्न अवस्थाबारे बताउँदै पत्रकार लुसी कर्म्याकले बीबीसीसँग भनिन्, "सबैले प्रत्येक दिन यसकै विषयमा कुरा गरिरहेका छन्। धेरैजसो समय सहरमा एउटा डरलाग्दो सुन्तला रङ्गको चमक देखिइरहन्छ।" सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी भइरहँदा सप्ताहान्तमा ४७ डिग्रीसम्म पुग्न सक्ने ठानिएको छ। सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अस्ट्रेलियामा आठ जनाको ज्यान गएको छ भने ७०० भन्दा धेरै घर नष्ट भएका छन्। दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ। प्रधानमन्त्री मरिसन पहिले नबताइएको बिदा मनाउन अमेरिकाको हवाई पुगेको हल्लाका विवरण प्रकाशमा आएपछि मानिसहरूले उनको व्यापक आलोचना गरे।

सामाजिक सञ्जालमा 'उनी कता गए' भन्ने भावका थुप्रै ह्याशट्याग ट्रेन्डिङ भएका थिए। देशभरि अत्यधिक गर्मी अनि ठूल्ठूला डढेलो फैलिन थालेपछि ती आलोचना झन् धेरै चर्किए। सरकारका मन्त्रीहरूले प्रधानमन्त्रीले लिएको बिदालाई उचित भन्दै उनको प्रतिरक्षा गरे। तर उनले मरिसन कहाँ गएका हुन् भनेर बताएनन्। प्रधानमन्त्रीको कार्यालयले बीबीसीसँग बोल्दै उनी हवाईमा भएको विवरण गलत भएको बताएको थियो। तर शुक्रवार प्रधानमन्त्री मरिसनले एक रेडियो स्टेशन 'टूजीबी' सँग आफू परिवारसँग हवाईमा रहेको पुष्टि गरे। आफूले डढेलोबारे नियमित खबरहरू अनि विवरणहरू लिइरहेको उनले बताए। साथै गत साता न्यूजील्यान्डमा भएको ज्वालामुखी विस्फोटबारे पनि लगातार जानकारी लिएको उनले बताए। उक्त घटनामा ११ अस्ट्रेलियन नागरिकको पनि ज्यान गएको थियो। "हालैका यी दु:खदायी घटनामाझ म अब चाँडोभन्दा चाँडो सिड्नी फर्किँदैछु," उनले एक वक्तव्यमा भनेका छन्। "यी भयानक डढेलोका कारण पीडित कैयौँ अस्ट्रेलियालीमध्ये कसैलाई पनि मेरो यो सपरिवार बिदाले पुर्‍याएको हुन सक्ने चोटप्रति म दु:ख व्यक्त गर्छु," उनले शुक्रवार भने।

अस्ट्रेलियाका कतिपय मानिसहरूले प्रधानमन्त्री मरिसन तथा उनको सरकारमाथि जलवायु परिवर्तनसम्बन्धी निष्क्रियता देखाएको आरोप लगाएका छन्। डढेलोको प्रकोप चर्किँदै गर्दा पनि सरकारले त्यसका पछाडि जलवायु परिवर्तनको के कति भूमिका छ भनेर बोल्न चाहेको छैन। त्यसले पनि विरोध निम्त्याएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि जलवायुसम्बन्धी कामकारबाहीलाई लिएर अस्ट्रेलियाको आलोचना हुने गरेको छ। संयुक्त राष्ट्रसङ्घले जी ट्वेन्टी समूहका सम्पन्न देशमध्ये उत्सर्जन कटौतीको वाचा पूरा नगर्ने थोरै देशमा अस्ट्रेलिया पनि पर्ने उल्लेख गरेको छ। मरिसनले उनको देशले विश्वव्यापी उत्सर्जनमा केवल १.३% मात्र योगदान दिने गरेको भन्ने गरेका छन्। तर प्रतिव्यक्ति कार्बन उत्सर्जन परिमाण तुलना गर्दा अस्ट्रेलिया सबभन्दा धेरै उत्सर्जकमध्ये पर्छ। किनकि अझैसम्म पनि अस्ट्रेलिया कोइलाबाट निकालिने ऊर्जामा अत्यधिक निर्भर छ। -बीबीसी