काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भएका छन् । यस गोलीबारीमा इमरानको पार्टी तेहरिक इन्साफका १४ कार्यकर्ता पनि घाइते भएका छन् भने एक कार्यकर्ताको मृत्यु भएको छ ।
खान लाहोरको शौकत खानम अस्पतालमा भर्ना भएका छन् र उनको खुट्टामा लागेको गोली निकाल्न शल्यक्रिया गरिएको छ । आज इमरान खानले आफ्नो पार्टीको बैठक बोलाएका छन्, जसमा उनले आफ्नो अर्को रणनीति घोषणा गर्ने छन् ।
इमरान खानको तेहरिक इन्साफ पार्टीले लाहोरदेखि इस्लामावादसम्म लङ मार्च निकालेको छ । पार्टीले पाकिस्तानमा चाँडोभन्दा चाँडो आम चुनाव गराउन चाहन्छ। यस मार्चको क्रममा बिहीबार पञ्जाब प्रान्तको गुजरनवालामा एक बन्दुकधारीले खानको कन्टेनरमा गोली चलाएको थियो।
गोली चलाउने आक्रमणकारीलाई रोक्न तेहरिक इन्साफका धेरै कार्यकर्ता उनीतर्फ सरेका थिए । गोली लागेर एकजना मजदुरको मृत्यु भएको छ । तर, इब्तेसाम हसन नामका पीटीआई कार्यकर्ताले आक्रमणकारीसँग झडप गरे। इब्तेसमले आक्रमणकारीलाई दृढतापूर्वक समाते र त्यसपछि आक्रमणकारीले गोली चलाउन सकेनन्।
घटनापछि मिडियासँग कुरा गर्दै इब्तेसामले आफू इमरान खानको कन्टेनरबाट १० फिट टाढा रहेको बताए ।
उनले भने, ‘आक्रमणकारी आयो र उसले म्यागजिन लोड गरेर गोली चलाउन थालेको थियो। म हतार-हतार दौडेर उसको सामना गरेँ। त्यसपछि उनको गोली भुइँमा खस्यो। त्यसपछि उसले भाग्न खोज्यो, मैले फेरि पक्रने प्रयास गरे, त्यसपछि पुलिस आएर उसलाई लगे।’
इब्तेसामले पाकिस्तानी टिभी च्यानललाई घटनाबारे विस्तृत जानकारी दिएका छन् । उनले भने, ‘मेरो उद्देश्य खान साहबलाई लक्षित गर्नु थिएन। आक्रमणकारीलाई देखेपछि मैले उनलाई शंकास्पद महसुस गरें। तत्कालै उनले सलवारबाट पेस्तोल निकाले। उनले पेस्तोल निकाल्ने बित्तिकै म उनीतिर दगुरेँ।’
‘उनले खान साहबलाई सीधै निशाना बनाउन सकेनन्। त्यतिन्जेल मैले पेस्तोल समातेको हात समातें। त्यसपछि पनि गोली चलेको छ, तर कसैलाई निशाना बनाएर होइन। मेरो लक्ष्य थियो कि म मरे भने केहि हुन्न । तर खान साहबको ज्यान जोगाउनु पर्छ।’
सामाजिक सञ्जालमा प्रशंसा
तेहरिक इन्साफको सरकारमा मन्त्री रहेका जरताज गुल वजीरले भने– अहिले यो युवा राष्ट्रिय नायक बनेका छन् । यसले खान साहबलाई निशाना बन्न दिएन । पाकिस्तानका एक व्यापारी मीर मोहम्मद अली खानले गोली हान्ने तर्फ झुकेर आफ्नो पेस्तोल समात्ने इब्तेसाम नायक भएको बताए ।
बिहीबार के भयो ?
लाहोरबाट इस्लामाबादसम्म सुरु भएको इमरान खानको पार्टीको पदयात्रा पञ्जाबको गुजरनवालासम्म पुगेको थियो । उक्त काफिलेमा हजारौं मानिस सहभागी थिए ।
इमरान खान आफ्नो कन्टेनरमा पार्टीका केही वरिष्ठ नेताहरुसहित उपस्थित थिए । त्यसपछि त्यहाँ एक व्यक्तिले गोली चलाउन थाले। आक्रमणकारीले जबरजस्ती आक्रमण गर्दा १४ जना घाइते भएका थिए भने एक जनाको ज्यान गएको थियो । यससँगै इमरान खानको खुट्टामा पनि गोली लागेको छ ।
इमरान खानलाई तुरुन्तै लोहारको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको राति अबेरसम्म शल्यक्रिया गरिएको थियो र अहिले खतरामुक्त रहेको बताइएको छ। यो अस्पताल पनि इमरान खानले आफ्नो क्रिकेट करियरमा बनाएका थिए ।
इमरान खानको पार्टीले यस हमलाको लागि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र गृहमन्त्री राणा सनाउल्लाहलाई दोषी ठहर गर्दै यो खानको हत्या गर्ने प्रयास भएको बताएको छ।
पाकिस्तानमा सत्तारुढ गठबन्धन र शाहबाज शरीफको पार्टी मुस्लिम लिग (नवाज)ले पञ्जाबमा पीटीआईको शासन रहेको र पुलिस उनीहरूको अधीनमा रहेको बताएको छ। प्रधानमन्त्री शरीफले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको छानबिन गर्ने घोषणा गरेका छन् ।-एजेन्सी
प्रतिक्रिया