गुल्मी । २०४८ सालको चुनाव अघि अर्थात् पञ्चायती सरकारले गर्ने झारा टराई चुनावदेखि अहिले गणतान्त्रिक मुलुकको वर्तमान चुनावसम्म पनि आफूलाई मनपर्ने नेतालाई जिताउन मरी मेट्ने पात्रको नाम हो चन्द्रबहादुर सुनार ।
गुल्मीको मुसिकोट नगरपालिका–३ चुँदरीगाउँ निवासी अहिले ८० वर्ष उमेर पुगेका सुनार पञ्चायत कालका खँुकार पञ्चेका रुपमा चिनिन्थे । साविक बडागाउँ गाउँपञ्चात वडा नम्वर ७ का वडा सदस्यबाट जनप्रतिनिधीको यात्रा सुरु गरेका सुनार २०४६ सालको परिवर्तन पछि पुर्व पञ्चहरुले केहि समय विश्राम लिए संगै सुनारले पनि लिएका थिए ।
तर २०४८ को निर्वाचनपछि उनको मानसपटलमा परेको राजनैतिक नसाले निष्क्रिय बस्न दिएन । फलतः कांग्रेस हुँदै तत्कालिन नेकपा मालेमा लागेका सुनार हालसम्म पनि सोही पार्टीमा छन्। ४८ उताको निर्वाचनमा उनको राजनीतिक गतिविधि त बाल्यपनको देखाई र सुनाई मात्र भयो तर २०४८ सालदेखि गत स्थानीयतहको निर्वाचन र अब मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म उनको राजनैतिक सक्रियता नजिकबाट प्रत्यक्ष नियाल्ने पात्र हो यो पंक्तीकार ।
केहि दिनअघि त्यस गाउँमा पुग्दा उनको बुढौलीपन , चाउरी परेका चेहरा र कलेटी परेको ओंठहरु नियाल्दा कठैबरै बुढेशकालमा मेरो पनि त हाल यस्तै हुने होला भनेर भावुक भइयो केहिबेर ।
त्यसपछि उनको स्वास्थ्य र आर्थिक अवस्था लगायतका ब्यबहारिक कु्रा सकेपछि चुनावी गफ निकालेर उनीमा राजनीति प्रतिको उत्साह बारे बुझ्ने कोसिस गरियो र उनले आश्था राख्ने दलका नेताहरुको जिस्कीएर चर्को आलोचना गरियो ।
ए बाफ्रे ,त्यसपछि त वृद्धलाई जिस्काइपासो भयो । त्यसअघि वृद्ध भनेर भनेर सहानुभूति देखाएका थियौं तर, उनको जोस् सार्है रहेछ ।
केहि वर्ष अघिसम्म उनी जस्तै एमालेमा सक्रिय उनका छोरा हुकुम सुनार अहिले कांग्रेस भई सक्नु भएको छ तर उनको जोस कांग्रेसी छोराको भन्दाबढी देखियो । भाइका नाताले हुकुम र म केहिबेरसंगै बसेर बुढाहरुको अहिले पनि उस्तै राजनैतिक नसा र त्यस नसाबाट उनीहरु आफूले पाएको अवसर र गाउँले पाएको विकास बारे समिक्षा पनि गरियो र प्रतिफल शून्य देखियो ।
सोही गाउँमा चन्द्रबहादुर सुनारका पञ्चायत काल देखिका राजनैतिक सहकर्मी हुन् । उनका भतिजा गोमबहादुर सुनार । उनीपनि पञ्चायत कालका वडा सदस्य हुँदै बहुदलिय ब्यवस्था पछि केहि बर्षसम्म एमाले र माओवादी जनयुद्धदेखि हालसम्म माओवादीका पुराना नेता छन् ।
उनीहरु दुबै जना आ–आफ्ना पार्टीका कट्टर समर्थक छन् र हरेक चुनावमा युवाहरु बरु जाँड भट्टी वा ठूला होटल–रेस्टुरेन्टहरुमा मासु भात रक्सीले परिचालित होलान तर उनीहरु आ–आफ्नै घरको आटो पिठो खाएर परिचालित हुँदै आएका छन् ।
किनकी उनीहरुसंग ब्यक्तिगत लालच न पञ्चायतकालमा देखियो न अहिले । उनीहरुमा हाल सम्म देखिएको राजनैतिक सक्रियता हेर्ने हो भने उनीहरुले बनाएका कार्यकर्ता अहिले कोही पालिका अध्यक्ष , कोहि वडाध्यक्ष त कोही विभिन्न अवसर पाई सक्दा उहाँहरु दुई जनाले पनि कुनै न कुनै अवसर पाउनु पर्ने हो । तर अवसर शुन्य छ र गाउँको विकासमा पनि कुनै परिवर्तन आएको छैन ।
अरु टोलका घर घरमा मोटरबाटो पुग्दा त्यस गाउँमा वल्लो टोल चुँदरीगाउँदेखि पल्लो टोल दाम्का सम्म पुग्ने गोरेटो बाटोसम्म छैन । कसैका बारीको खेती कुल्चिदै, पानी परेको बेला खरका गाँज समाउँदै र घर्सिदै आउजाउ गर्नु पर्छ ।
पञ्चायत कालमा बरु झारा लगाउने ( जनश्रमदान गर्ने ) चलन थियो र गोरेटाबाटाहरु हिडन कुनै असुविधा थिएन । तर बहुदल पछि त जनश्रमदान पनि हरायो र नेताहरुको ध्यान मोटरबाटो खन्न मै भए पछि चुँदरीगाउँ–दाम्का सम्मको गोरेटो बाटो मात्रै होईन अन्य तमाम हिजोका गाईभैसी हिडाउने फराकिला गोरेटाबाटाहरुको समेत नामो निशान छैन ।
दाम्कादेखि तल ठूलापोखरा , त्यहाँदेखि जलजले , तितिृरे चौरसम्मका गोरेटाबाटाहरुमा ठूला ठूला भारी बोकेर हिड्थे बुढापाकाहरु तर, अहिले लेउ लागेर झाडी बढेर रित्तो ज्यान उकालो ओरालो गर्न पनि नसिकने अवस्था छ । तीनै गोरेटाबाटाहरुमा मोटरबाटो खनियो तर त्यहाँ गाडी चल्दैन बरु तलै पहिरो माथि पहिरो गएर गरिखाँदै आएको खेतीयोग्य जमिन गाउँवासीले क्षति ब्यहोरेका छन् ।
माथिनै भनि सकियो राजनैतिक सक्रियताको हिसाबले अन्य समुदाय जस्तै पञ्चायत काल देखि हाल सम्म अगाडी रहेको दलित बस्ती हो त्यो चुँदरीगाउँ । जहाँ अहिले कांग्रेस , एमाले , माओवादी र पछिल्लो चरण समाजवादीका पनि कार्यकर्ता भइसके तर त्यस चुँदरीगाउँ दलित वस्तीको विकास शून्य छ ।
अरु कुरा छाड्नुस, गाउँको सिंहदरवार भनिएको मुसिकोट नगरपालिकाले सञ्चालन गर्ने विभिन्न आय आर्जनमुलक र रोजगारमुलक कार्यक्रममा समेत त्यहाँका जनतालाई सुँईको नदिई बिमुखो पार्ने कोशिष गरिन्छ ।
अघिल्लो मुसिकोट नगरपालिका सरकारको पालामा कोभिड बिशेष कृषि कार्यक्रम सबै गाउँमा परेको थियो । त्यस बेला त्यो गाउँमा गएर बुझदा त्यहाँका कसैले थाह छैन भनेर हामीलाई भने । त्यस पछि तत्कालिन मेयर सोमनाथ सापकोटालाई हामीले फोन गरेर त्यहाँका बासीन्दाको दुखेसो सुनाए पछि थोरै भए पनि एउटा कार्यक्रम प¥यो ।
स्थानीय सरकारको काम जनतालाई समृद्धि दिने भन्दा पनि आफ्ना राजनैतिक दलका कार्यकर्ता बढाउनमा केन्द्रित छ भन्ने क्ुरा हालसम्मको भोगाईले देखाएको छ । बर्षऔं देखि टयाक्टरले एउटा खुट्टा गुमाएर दयानिय अवस्थामा रहेका त्यस चुँदरीगाउँका अशोक सुनारलाई अपङ्गा भत्ताबाट बञ्चित गरिएको थियो । यसै पक्तिकारले तत्कालिन मेयर सापकोटा , उपमेयर कमला शर्मा र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भ्ुसाललाई भनेर अपाङ्ग परिचय पत्र दिलाइयो ।
दलितहरुको परम्परागत पेशा हराउँदै गएको छ र त्यो सँगै बालीघरे प्रथा पनि हराएको छ तर दलितहरुमा राजनैतिक बालिघरे प्रथा हराएको छैन । आ–आफ्ना ‘बिष्ट’ ( गाउँका ठूलाबडा ) जता लागे उत्तै लाग्नु नै दलितहरुमा दास मानसिकताको उपज बालिघरे प्रथा हो ।
त्यो नै दलितहरुका लागि ठुलो दुर्भाग्य बन्दै आएको छ । यहि दुर्भाग्यका कारण आज भन्दा ५० वर्ष अघि भो–भोकै राजनीतिमा हिड्दा घरमा श्रीमतीको कुचाको डाँठ खाँदै र गरिवी र अभावै अभावले ओंठ जसरी कलेटी परेको देखिन्थ्यो अहिले पनि उनै चन्द्रबहादुर सुनार र गोमबहादुर सुनारका ओंठ उस्तै छन् ।
अझ त्यो भन्दा अलि माथि गोहडा , भर्तेबारी, सेनीपिप्ले गाउँका दालितहरुका लागि परिवर्तन कुन चरीको नाम हो ? भन्ने अवस्था छ तर उनिहरु गाउँका उनै बालिघरे बिष्टहरुलाई माथि पुराउन पाएकोमा यहि नै हो परिवर्तन भनेर मख्ख छन् र दलगत ‘मेरा बिष्ट भन्दा तेरा बिष्ट साना र ठूला’ को विवाद निकालरे बेकारमा आपसमा दुश्मनी कमाइरहेका देखिन्छन ।
त्यहाँका दलितहरुको अबस्था बुझदै उत्तरतर्फको अझ विकट थलो नेटा दर्लिङ्ग गाउँका दलितहरुको अवस्था बुझ्न पुगियो । नेटाको थामडाँडाको दलित र जनजाती वस्तीको अवसथामा २०६४ सालको चुनावमा जाँदा जस्तो थियो उस्तै देखियो ।
परिवर्तनका नाममा यतिबेला पिच भई सक्ने छ भनिएको रातडाँडा मुसिकोट पौदीअमराई नेटा दर्लिङ्गको मोटरबाटो फराकिलो पार्ने र ठाउँ ठाउँमा ग्रावेलिङ्ग गर्ने काम मात्र सुरु भएको रहेछ । स्थानीय जनताकै विकासका लागि आएको बजेटबाट खरका छानामा टिन (जस्ता पाता ) लगाउने काम भएको रहेछ तर घरमा दाना नै छैन भने छानाको के काम ? भन्ने सवाल उनिहरुको गरिबीले आँफै उठाउथ्यो ।
अहिलेसम्म त्यो बाटो पिच भइसक्नु पर्ने थियो । जहाँ जिपको चर्को भाडाको साटो बसमा केहि सस्तो भाडाले राहत पाउँथे जनताले तर गएको चुनाव ताका केहिदिन बस त लगियो तर एक महिना नहुँदै बस जताबाट आयो उतै गयो फर्केर आउन सकेन ।
हाल मालिका गाउँपालिका–१ को लिलिङ्ग सल्लाखर्कका जनता अहिले पनि मोटरबाटाको अभावमा पालिकाको केन्द्र ठूला चौरमा पाँच देखि ६ घण्टाको उकालो ओरालो गरेर जााने गर्दछन् । जसो तसो मोटरबाटाको ट्रयाक त खोलियो तर त्यहाँसम्म गाडी पुग्ने अवस्था छैन ।
त्यस लिलिङ्गका ७० वर्षीय मदनबहादुर घर्ति भन्छन् –‘ ४८ साल देखिका हरेक चुनावमा भोट हाल्दै आईयो र आश्वासन पनि थुप्रै पाइयो तर अहिलेसम्म हाम्रो गाउँमा न मोटरबाटाको सुविधा छ न विद्युत न खानेपानीको सुविधा छ ।’
उनले स्थानीय स्तरमा खानेपानीका मुहान प्रशस्तै हुँदा पनि ट्याङकी निर्माण गर्न नसक्दा र पाईपको जोह गर्न नसक्दा अहिले पनि त्यहाँ जनताले पुरानै पँधेरोबाट पानी बोकेर खाने गरेको गुनासो सुनाउछन् । त्यहाँका बासीन्दाले बाग्लुङ्गबासीसंग मिलेर लघुजलविद्युतमा प्रति घर धुरी ७ हजारका दरले पैसा तिर्दै र सयौं दिन जनश्रमदान गरेर बत्ति बालेको घर्ती बताए । त्यस्तै मोटरबाटाको अभावमा बिरामी र सुत्केरी महिलाहरु स्टेचरकै भरमा रहेकोले चुनाव जितेर जानेहरु जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान शिद्ध भएको दुखेसो पनि घर्तीले गरे ।
त्यस्तै विकट थलो हो मालिका–२ को पाटाखर्क , दुनाम, सिरुखर्क, तल्लो र माथील्ला च्याँनडाँडा गाउँ । जहाँ २०६४ सालको निर्वाचनमा माओवादीबाट विजयी भएका चन्द्रबहादुर थापा ( सागर ) को पहिलमा दर्लिङ्गदेखि त्यस गाउँसम्म पुग्ने मोटरबाटाको ट्रयाक खोलियो तर अहिलेसम्म पनि त्यहाँ नियमित गाडी चल्न सक्दैन ।
त्यस गाउँका दालित अगुवा केयरसिंह श्रीपाली भन्छन्–‘ २०६२ सालमा खानेपानी योजना पारियोको थियो । ३ लाख बजेटले केहि हुन सकेन । त्यस पछि म आफै नेताहरुलाई लगेर प्रदेश सरकारको मन्त्रालयमा पुगेर १० लाख रुपैयाँ पारेर आइयो तर मालिका गाउँपालिकाले टेण्डर हालेर त्यो रकमको काम हामीले सोंचे जस्तो भएन र अहिले पनि त्यो योजना अलपत्र छ । ’
उनी माओवादी कार्यकर्ता हुन् । श्रीपालीले झैं त्यस गाउँमा विकास हुन नसकेको गुनासो सुनाउने उनकै छिमेकी रविन्द्र बिक नेपाली कांग्रेस त्यस वडाका सभापति छन् । अर्का दलित अगुवा मानबहादुर बिक नेकपा एमालेका कार्यकर्ता हुन् । उनलेपनि त्यस गाउँको विकास हुन नसकेको गुनासो गर्छन् तर सबैले आ–आफ्नै पार्टीले मात्रै विकास गर्ने भन्दै ढाँट कुरा गरेर अन्य सर्वसाधरण दलितहरु कहाँ भोट माग्न हिड्ने गरेका छन् ।
ती सर्वसाधरण दलितहरुको सुध्रिएको अवस्थाको कुरै नगरौं । स्वयम् ती दलित अगुवाहरु कै अवस्था आजभन्दा १५ वर्ष अघिको चुनावमा जस्तो थियो उस्तै देखियो । त्यत्रो वर्ष उनिहरुसंगै र कोही उनिहरुभन्दा पनि धेरै पछि राजनीति गरेकाहरु सुकिला मुकिला देखिए । कोही गाडी मालिक त कोही शहरका पक्की घर मालिक भेटिए तर ती दलित अगुवाहरुको भने खुट्टामा तुना छिनेको चप्पल देखियो । भर्खरकै उमेर भएका उनिहरुको मुहारमा वृद्ध–वृद्धाहरु कै जस्तो चाउरी परेको , ओठ कटेली परेको उनिहरुको मुहारको त्यो दृश्यले त्यहाँका आम गरिव दलितहरु प्रतिनिधित्व गरिरहेको थियो ।
र, पनि उनिहरु आ–आफ्ना दलका उमेदवारहरुलाई जिताउन कहिले भोकै त कहिले खाली खुट्टा उकालो ओरालो गरिरहेका छन् । उनिहरुको दयानिय घरको त्यो अवस्था बुझ्दा र राजनीतिमा त्यो सक्रिया देख्दा आखिर तिमीहरु आफुले पायौं के र अरुलाई दिऔं के ? भन्ने मनमनै प्रश्न उब्जियो । तर गाउँका ठुलाबडाहरुको ईसारामा चल्नु पर्ने बाध्यता भएर पनि होला भर्खरी सुत्केरी पनि त्यो चिसोमा काँखमा बच्चा च्याँपेर चुनावी सभामा आएकी थिइन् ।
त्यसरी दलित लगायत आम शोषित पीडित जनताहरु आफ्नो मुक्तीका लागि भन्दै राजनैतिक दलका कार्यक्रममा सहभागि हुन्छन् । त्यस क्रममा धान खाने मुसो चोट पाउने भ्यागुतो हुँदै राजनैतिक प्रतिशोधको शिकार भएर कुटाई पिटाई खाएर अंगभंग हुन्छन् । कसको न्याय नपाउने गरि ज्यान हाली दिन्छन् । कोही झुटा मुद्दामा जेल पठाइन्छन्।
त्यही राजनैतिक प्रतिशोधको शिकार हुँदै थिए त्यहाँका दलितहरु गाई काटेको मुद्दामा । सदियौंदेखि त्यस गाउँ सहित छिमेकी जिल्लाका दलितहरुले गोरुको मासु खाँदै आइरहनुलाई उनिहरुले सामन्य बिषय ठान्छन् । तर, कानूनले त्यसलाई ठूलो अपराध मान्छ । जुन कुरा बुझेका बिपक्षी दलका मानिसहरुले सुराकी लगाई दिन्छन् ।
त्यसैले प्रायः हरेक चुनावमा त्यहाँका दलितहरु गाई काटेको अपराधमा पर्ने गरेका छन् । त्यो सुराकी लगाउने अरु कोही होइन आफ्नै समुदायको मान्छे हो । नेता रुपी आफ्ना बिष्टहरुको चाकरीका लागि उसले आज सुराकी अर्कोलाई लगायो भोली फेरी उ आफै पनि आफ्नैहरुको सुराकीबाट जेलमा पर्छन् ।
यसर्थ अरुहरुलाई माथि पुराउन दलितहरु आफू–आफूमा दुश्मनी नमोलौं । अहिलेसम्मका चुनावमा नेताहरुले दिएको आश्वासनको हिसाव –किताव खोजौं । राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धीको समिक्ष र रक्षा गरौं ।
उपलब्धी स्वरुप प्राप्त संविधानले दिएको अधिकार उपभोगका लागि दलितहरु एकजुट भई हस्तक्षेप गरौं । अहिले पनि संविधानबाट प्राप्त अधिकार दलित समुदायले उपभोग गर्न सकेको छैनन । गास बास कपास, स्वास्थ्य शिक्षा जस्ता आधारभुत सुविधाबाट कैयौं दलित बञ्चित हुनु परेको छ । अन्तरजातिय विवाह गर्ने दलितका तमाम युवाहरु बलात्कार मुद्दामा जेल जजेल जीवन जिउनु परेको छ।
दलितहरु माथि यी र यस्ता तमाम अन्याय , अत्यचार , शोषण दमन र उत्पीडिन बिरुद्ध जुन कुनै पार्टीबाट बिद्रोह गर्नु साटो आफू आफूमै विभाजित हुनु भनेको आम दलित गरिबले उनै मुसिकोटका चन्द्रबहादुर र गोमबहादुर सुनारहरु कै नियती भोग्नु हो ।
जसले उर्जाशिल वैंश उमेरदेखि त्यो बुढ्यौली उमेरसम्म अरु कै लागि ज्यान फाल्यो तर, आफू र आफ्ना समुदायका ओंठहरु कलेटी पारिरह्यो र अझ अरु थुप्रै चन्द्रबहादुर र गोमबहादुरहरुले पारिने रहनेछन् । यसप्रति अब दलित समुदायका आम शिक्षित–सचेत युवावर्ग जागरुक भई एक ज्ुट हौं । न कि चुनाव ताका कसैको भर्याङ्ग नबनौं । कसैको मासु रक्सी र पैसामा नबिकौं ।
प्रतिक्रिया