ताजा अपडेट »

संविधान र लोकतन्त्रको रक्षाका लागि जनमुक्ति पार्टी गठवन्धनमा: सूर्यवंशी

सोमबार, १४ कार्तिक २०७९

बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा (सूर्यवंशी) ले नेकपा एमालेले पटक–पटक संविधान मिच्ने कोसिस गरेकोले आगामी निर्वाचनमा जनमुक्ति पार्टी बाम लोकतान्त्रिक गठवन्धनमा सामेल भएको बताएका छन् ।

सोमबार बुटवलको नयाँ गाउँमा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । एमालेले जिते फेरि संवैधानिक संकट ल्याउन सक्ने भन्दै उनले संविधानका रक्षक गठबन्धनका उम्मेदवारले जीत हासिल गर्नुपर्ने विचार व्यक्त गरे । उनले दुई पटकसम्म संसद विघटन गरेर एमालेले देशमा राजनीतिक अस्थिरता ल्याएको उल्लेख गरे ।

गठबन्धनका उम्मेदवारले नजिते फेरि देशमा अझै धेरै राजनीतिक सङ्कट उत्पन्न हुने उनको भनाई थियो । देशमा वैदेशिक ऋणको भार थपिँदै जानु राजनीतिक अस्थिरताकै कारण भएको भन्दै उनले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि गठवन्धन दलका उम्मेदवारले जित्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरीले रुपन्देही २ मा यो पटक एमालेको पराजय निश्चित रहेको दाबी गरे । बलियो गठबन्धन रहेकाले कसैले पनि दायाँबायाँ नगरी भोट हालेर गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । एमालेले पराजित मानसिकता देखाइसकेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने आवस्यकता औल्याए ।

रुपन्देही २ मा गठवन्धनको चुनाव परिचालन समितिका संयोजक तथा एकीकृत समाजवादीका नेता राजु गुरुङले एमालेका उम्मेदवार विष्णु पौडेललाई पराजित गरेरै छोड्ने बताए । उनले विष्णु पौडेलको आम्दानीको स्रोत पनि खोज्नुपर्ने उल्लेख गरे । उनले भने, ‘विष्णु पौडेलले न कुनै जागिर गरे, न कुनै पेसा व्यवसाय गरे तर काठमाडौँमा आलिसान घर तथा २० औँ करोडको सम्पत्ति कसरी आर्जन गरे ?’ अकुत सम्पत्ति कमाएका पौडेलको खोजबिन हुनुपर्ने भन्दै गुरुङले यहाँका जनताले यसपटक उनलाई पराजित गर्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार बामदेव क्षेत्री,रुपन्देही क्षेत्र नं २ चुनाव प्रचार प्रसार समितिका संयोजक पर्शुराम ढकाल,नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी,नेपाली कांग्रेसका महासमिति सदस्य रामबहादुर कार्की लगायतले मंसिर ४ को निर्वाचनमा रुपन्देही–२ मा एमालेका उम्मेदवारलाई परास्त गरेरै छोड्ने बताए । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने दाबी गरे ।