पुस २,
लाहोर । पाकिस्तानी सेनाले पूर्वराष्ट्रपति तथा सेना प्रमुख परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय दिने अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरेको छ। पाकिस्तानी सेनाले मुशर्रफको पक्ष लिँदै विज्ञप्ति जारी गरेको हो।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले जारी गरेको विज्ञप्तिमा मुशर्रफ कहिल्यै देशद्रोही हुन नसक्ने भन्दै अदालतको फैसलाले सेनालाई धक्का लागेको जनाएको छ। देशको लागि ४० वर्ष सेवा गरेका उनलाई मृत्युदण्डको फैसला हुनु पाकिस्तानको संविधानविपरीत भएको सेनाले दाबी गरेको छ। ‘एक पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति, जसले ४० वर्षभन्दा बढी समय देशको सेवा गरिसकेका छन्, देशको रक्षाका लागि लडे, कहिल्यै पनि देशद्रोही हुन सक्दैन,’ सैनिक प्रवक्ता गफूरले भनेका छन्।
पाकिस्तानको विशेष अदालतले मङ्गलबार पूर्वराष्ट्रपति मुशर्रलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो। सेनाले मुशर्रफलाई अदालतमा आफ्नो बचाउ गर्न पाउने अवसरसमेत नदिइएकोमा आपत्ति जनाउँदै संविधानअनुसार प्रतिरक्षा गर्ने व्यक्तिको आधारभूत अधिकार भएको उल्लेख गरेको छ। अदालतले ठोस सुनुवाई नगरी हतारमा फैसला सुनाएको सेनाको आरोप छ। पाकिस्तानी सेनाले पाकिस्तानको संविधानअनुसार मुशर्रफमाथि न्याय हुने अपेक्षा राखेकोसमेत सैनिक प्रवक्ता गफूरले विज्ञप्तिमा उल्लेख गरेका छन्। - एजेन्सी
प्रतिक्रिया