ताजा अपडेट »

बहुविशेषताको तिहारलाई ‘दीपावली’मा सीमित नपारौँ !

विहीबार, १० कार्तिक २०७९

तिहारलाई शास्त्रीय भाषामा यमपञ्चक भनिन्छ । यो कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिबाट सुरू हुन्छ र कात्तिक कृष्ण पक्षको द्वितीयमा सकिन्छ । पहिलो दिन कागको पूजा गरेर सुरू हुन्छ र दिदीबहिनीले दाजुभाइलाई टिका लगाइदिएपछि सकिन्छ । यस बिचमा कुकुर, गाई, गोरू, हलि, गोवद्र्धन पर्वतको पनि पूजा गरिन्छ । मृत्युका देवता मानिएका यम र उनकी बहिनी यमी थिइन् । यमीका घरमा यम गएर बसेको यो पाँच दिनको अवधि यमपञ्चक हो । तसर्थ यम र यमीको सन्दर्भविना यमपञ्चकबारे जान्न सकिँदैन ।

कुनै पनि विषयको सार पक्ष र रूप पक्ष हुन्छ । तिहार वा यमपञ्चक तथा यस अवधिमा गरिने प्रत्येक क्रियाकलापको सार पक्ष छ । हामी जातिपातिमा बाँडिएको समाजमा छौँ । हाम्रो समाजमा जानेर वा नजानेर जातीय विभेद रहेको छ । तिहार पर्वको प्रसङ्गले जातपात भन्ने विषय प्रकृतिले वा ईश्वरले बनाएको होइन, मानिसको अल्पज्ञताले मात्र अल्झाइरहेको छ भन्ने एउटा पक्ष स्पष्ट पार्दछ ।

को हुन् यम र यमी ?यसको शास्त्रीय प्रमाण के छ ? यस्तो प्रश्न उठ्नु पर्दछ, उठेको पनि होला । अट्ठार पुराण मध्येको एउटा पुराण अग्निपुराण हो । सोही अग्निपुराणको २७३ ओैँ अध्यायको श्लोक सङ्ख्या ३ र४ मा यस्तो उल्लेख पाइन्छ :

त्वाष्ट्री संज्ञां मनुं पुत्रं यमलौ यमुनां यमम् । छाया संज्ञां च सावर्णिं मनुं वैवस्वतं सुतम् ।
शनिं च तपतीं विष्टिं संज्ञायां चाश्विनौ पुनः
अर्थात् संज्ञाको गर्भबाट मनु एवं यम र यमुना नामका जुम्ल्याहा सन्तान जन्मिए । छाया—संज्ञाबाट सावर्णि मनु र शनैश्चर नामका छोराहरू तथा तपती एवं विष्टि नामका छोरीहरू जन्मिए । यसबाट यम, यमी र संज्ञाको सम्बन्ध स्पष्ट हुन्छ । संज्ञा सूर्यकी पत्नी थिइन् ।

यी संज्ञा विश्वकर्माकी छोरी थिइन् । छाया संज्ञाकै अर्को रूप थिइन् भनिएको छ । यसरी सूर्यका ससुरा विश्वकर्मा थिए । यम र यमी विश्वकर्माका नाति र नातिनी थिए । यस प्रसङ्गबाट मनु, यम, यमी र विश्वकर्मा बिचको सम्बन्ध पनि स्पष्ट हुन्छ । यसरी स्पष्ट हुनु भनेको हाम्रो समाजमा तथाकथित दलित-शूद्र बनाइएका विश्वकर्मा को हुन् र नेपाली समाजमा रहेको छुवाछूतको निरर्थकताबारे स्पष्ट हुन सकिन्छ । यस हिसाबले पनि हामीले यम र यमीसँग जोडेर यो पर्व मनाउनु औचित्यपूर्ण हुन्छ ।

तिहारको सामाजिक पक्ष सूर्य, विश्वकर्मा, संज्ञा, छाया, यम, यमी एउटै परिवारका हुन् । एउटै परिवारका मानिसहरू कोही छुत, कोही अछुत हुँदैनन् भन्ने स्पष्ट हुन्छ । विश्वकर्मा आदि थर गरिएका मानिसहरू जन्मका आधारमा न दलित हुन्, न शूद्र हुन् । मनुस्मृतिकार मनु स्वयं विश्वकर्माकी छोरी संज्ञाका छोरा थिए । यसबाट विश्वकर्मा दलित वा शूद्रको थर नै होइन भन्ने स्पष्ट प्रमाणित भएको छ ।

अब यहाँ अलिकति यम र नियमबारे कुरा गरौँ । माथि नै गरिएको चर्चा अनुसार यम मृत्युका देवता हुन् । मृत्यु भनेको जीवनको निषेध हो । अर्को हुन्छ, नियम । नियम भनेको जीवनको व्यवस्थापन हो । जीवनको अन्तिम खुड्किलो मृत्यु हो । जीवन र मृत्युका बिचमा पनि यम र नियम सँगसँगै हुन्छन् । मानिसको जीवनमा स्वतः निषेध हुँदै जाने विषय र नयाँ हुँदै जाने विषय छन् । यसरी हेर्दा यसो गर्नुपर्छ भन्ने ‘नियम’ हुन्छ भने यसो गर्न हुन्न भन्ने विषय ‘यम’ हुन् ।

व्यावहारिक सन्दर्भमा कर तिर्नुपर्छ, बाटो बायाँ छेउतिरबाट हिँड्नुपर्छ, हेल्मेट लगाउनुपर्छ, सरसफाइ गर्नुपर्छ, वातावरण र स्वास्थ्य राम्रो राख्नुपर्छ, सुचना सञ्चारमा ध्यान दिनुपर्छ, मान्छे होस् वा प्रकृतिका अन्य प्राणी, उनीहरूका गुण विशेषता थाहा पाउनेपर्छ र हरेकका गुणको सम्मान गर्नुपर्छ भन्नु नियमभित्र पर्दछन् भने यसको विपरीत गर्नु निषेधात्मक अर्थात् यम अन्तर्गत पर्दछन् भन्ने मान्यता रहेको बुझिन्छ ।

हाम्रो घरआँगन छेउछाउमा रहेका फोहर खाएर सफा पार्ने, कुनै प्राकृतिक अनिष्टबारे घटना घट्नुअघि थाहा पाउने र सङ्केत गर्ने, सूचकको रूपमा मान्ने गरिएको कागका अन्य अनेकौँ गुणहरू रहेको भनिन्छ । कागलाई यमको दूत अर्थात् यमदूत मान्ने मान्यता रहिआएको पाइन्छ । ‘काकोद्रसि यमदूतोद्रसि’आदि भनेर कागको पूजा गरिन्छ र बलिभाग दिइन्छ, जसलाई काकबलि पनि भनिन्छ ।

नीतिशास्त्रमा कागबाट पाँच कुरा सिक्नू ‘वायसात्पञ्च शिक्षेत्’ भनिएको छ ।ती पाँच कुरा मानव सभ्यताका लागि महत्वपूर्ण विषय छन् : चनाखो रहनू, लुकेर मैथुन गर्नू, अतिरिक्त सञ्चय नगर्नू, सितिमिति कसैको भरविश्वास नपर्नू, सफासुग्घर रहनू ।यी सबै कुरासँगै नेपाली समाजमा कागलाई सन्देशवाहक-सूचकका रूपमा मान्ने गरिएको पाइन्छ । यसबाट तिहारको एउटा विषय सूचना तथा सञ्चारको महत्वसँग सम्बन्धित रहेको देखिन्छ ।

आयु-आरोग्यका ज्ञाता, आयुर्वेदका आविष्कर्ता महर्षि धन्वन्तरिको जयन्ती पनि मानिन्छ ।सामान्यतः आयुर्वेदले रोगको आधारभूत कारण कफ, वात र पित्तलाई मान्दछ भने यसका १. शल्य तन्त्र, २. शालाक्यतन्त्र, ३. कायचिकित्सा, ४. भूतविद्या, ५. कौमारभृत्य, ६. अगदतन्त्र, ७. रसायनतन्त्र, ८. वाजीकरण यी आठ अङ्ग हुन्छन् । यसबाट तिहारको अवसर आयु-आरोग्य(स्वास्थ्य) दृष्टिले पनि महत्वपूर्ण हुन पुगेको छ ।

यस शृङ्खला अन्तर्गत कुकुर तिहार मनाइन्छ । कुकुरका विशेषताबारे धेरै भनिरहन आवश्यक छैन । कुकुर मानिसहरूको नजिकको रक्षक हो, इमान्दार हुन्छ । नीतिशास्त्रमा कुकुरबाट छ वटा शिक्षा लिनू अर्थात् ‘षट्शून’ आदि भािएको छ । कुकुरको पूजा गरेपछि यसलाई विभिन्न परिकारहरू खान दिइन्छ । यसरी दिइने बलिभागलाई श्वानबलि पनि भनिन्छ । यी सन्दर्भमा कुकुरका विशेषताहरूको स्मरण गर्दै सम्मान गरिन्छ । इमान्दार, चनाखो, थोरै सुत्ने, निष्ठावान् आदिको महत्वका लागि तिहारको यो दिन महत्वपूर्ण रहेको देखिन्छ ।

औँसीको दिन गाई तिहार मान्ने प्रचलन छ । यसको रात्रिलाई सुखरात्रि भनिन्छ । यस दिन धन-धान्य, समृद्धिका लागि श्रीमहालक्ष्मीको पूजा गर्ने प्रचलन छ । लक्ष्मीको पूजा गर्नुका पछाडि धन कमाउने, खर्च गर्ने, त्यसबाट आनन्दित हुने, अपव्यय नगर्ने आदि स्मरण गर्ने सन्दर्भ हो । यसको सन्ध्या कालमा व्यापक दीप प्रज्वलन गरिन्छ, लस्करै दियो बालिन्छ । प्रकृतिमा अँध्यारो र उज्यालो पक्ष दुवै छ, तर मानिसको प्रयासले उज्यालो पार्न सकिन्छ ।

मानिस अँध्यारोबाट उज्यालोतिर लम्कनु पर्दछ अर्थात् ‘तमसो मा ज्योतिर्गमय’को प्रेरणा दिन्छ । यस दिनले गाईको महत्व दर्शाउनुका साथै मानिसका कर्मबाट समृद्धि र उज्यालो जीवनको सन्देश दिन्छ । यसै पनि गो शब्दको अर्थ गाई त हुन्छ, तर यसले इन्द्रिय, पृथ्वी भन्ने अर्थ पनि राख्दछ । ‘गो पूजा’ले कृषिका लागि गो वंशको उयादेयता, इन्द्रिय संयम, पृथ्वीप्रतिको दायित्व तथा यी सँगै प्राप्त हुने सुख, समृद्धि र वैभव आदि विषयको महत्व दर्शाउँछ ।

तिहारको चौथो दिन गोवद्र्धन पूजा गरिन्छ । यसको विशिष्ट अर्थ र महत्व छ । अनुयायीको बलमा श्रीकृष्णले इन्द्रलाई चुनौती दिँदै उठाएको गोवद्र्धन पर्वतको पूजाको ठूलो राजनीतिक अन्तर्वस्तु रहेको छ । यसै दिन गोरु तिहार मनाइन्छ-गोरूको योगदानको उच्च सम्मान गन्छि । गोरू मूलतः हलो जोत्ने विषयसँग जोडिएको हुन्छ । हलो जोत्नेलाई हलि भनिन्छ । यो दिन हलि सम्मानको दिन पनि हो । यसै दिन अन्यत्र नभएको नेपालमा मात्र हुने विशेष पर्व छ र त्यो हो-म्हपूजा । यो आत्मसम्मान, आफ्नो हेरविचारका दृष्टिले अत्यन्त महत्वपूर्ण विषय रहेको छ ।

तिहार वा यमपञ्चकको पाँचौँ दिन भाइ तिहार हुन्छ । वास्तवमा भाइ तिहार भनेको दाजुभाइलाई दिदीबहिनीले सम्मानजनक प्रेम र आपसी सुरक्षा तथा सहयोगको प्रतिबद्धताको विषय हो । तिथिका हिसाबले यो दिन द्वितीय पर्दछ । संस्कृतमा यसलाई भातृद्वितीया, हाम्रो तराई मधेशतिर भाइदूज-भैयादूज भन्ने गरिन्छ । खासमा संस्कृतको भातृ शब्दले दाजु र भाइ दुवै जनाउँदछ ।

यसरी यी पाँच दिनलाई शास्त्रीय हिसाबले यमपञ्चक र चलनचल्तीमा तिहार भनिन्छ । यत्रो मौलिका-विशेषता बोक्ने पाँच दिनको पर्वलाई सुखरात्रिका दिन गरिने दीपावली अर्थात् लहरै बत्ती बाल्ने पर्वका रूपमा मात्र सीमित पारेर कसैकसैले दीपावली र हुँदाहुँदा दिवाली मात्र भनेर शुभकामना दिँदै गरेको पनि देखिन्छ ।

यम दाजु र यमी बहिनी हुन् । यी दुवै वैदिक कालका देवता हुन् । ऋग्वेदमा यिनका विषयमा चर्चा छ । ऋग्वेदमा भएको चर्चा अनुसार वैदिक कालको पनि कुनै कालखण्डमा या कुनै काल खण्डसम्म एउटै परिवारमा विवाह हुन्थ्यो । विवाहको उमेर भएका यम र यमी कुनै समय यसरी भेटघाट भई पाँच दिनसम्म सँगै बसे अर्थात् बहिनी यमीको घरमा दाजु यम आएर बसे । यो बसाइबाट एउटा नयाँ सामाजिक सभ्यता बसाए । उनीहरू बिचको व्यापक छलफलबाट विकास गरिएको निष्कर्ष थियो-दाजुबहिनी विवाह नहुने । यस अर्थमा तिहार पर्व मानवजातिको एउटा फरक मान्यता र परम्पराबाट अर्को सामाजिक मान्यता स्थापित गर्ने महत्वपूर्ण पर्व हो । संयोग नै हुन सक्दछ, उनीहरू बीचको त्यो बसाइको तिथि यिनै परेको होस् । त्यही स्मरणका लागि तिनै दिनलाई यसरी मनाइँदैआएको हुन सक्दछ । दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धमा परिष्कार गरिएको यो तिहार पर्व वास्तवमै महत्वपूर्ण छ ।

संस्कृतिका आधारभूत देखिने पक्ष भनेको खानपान, पहिरन, चालचलन-दैनिन्दिन व्यवहार हो । यसमा पूजा पद्धति, चाडपर्व, रीतिरिवाज, परम्पराको पक्ष त हुन्छ नै । प्रकृति, उत्पादन पद्धति र यसमा प्रयोग गरिने औजार-उपकरण पनि संस्कृतिकै विषय हुन् । समष्टिमा भन्नुपर्दा संस्कृति भनेको सुधारिएको परम्परा र समाजले स्वीकार गर्ने गरी परिमार्जित मानव व्यवहार हो । उस्तै रहे परम्परा हुन्छ, नबुझी अवलम्बन गरे अन्धविश्वास हुन्छ ।सकारात्मक रूपमा परिवर्तित-परिमार्जित भए संस्कृति हुन्छ, बुझेर अवलम्बन गरे विज्ञान हुन्छ । संस्कृति वृहत् र व्यापक विषय हो । संस्कृतिको सारभूत अर्थ सुधारिएको, परिमार्जन गरिएको, राम्रो परिणति-परिणाम हो ।

जातीय समता, अनुकूल स्वास्थ्य, स्वच्छ वातावरका लागि सरसफाइ, आर्थिक समुन्नति र समृद्धि, पारिवारिक सद्भाव, सुरक्षाको अनुभूति र सम्मान, सद्भावका सन्दर्भमा तिहारको साह्रै महत्वपूर्ण स्थान रहेको छ । यति धेरै भाव, आशा, अपेक्षाको परम्परा र व्यवहारलाई दीपावलीले समेट्न सक्दैन, त्यसैले यो तिहार हो । यही खुसीमा झिलिमिली बत्ती बालेर रमाइलो गर्ने गरिन्छ । देउसी र भैलोको माध्यमबाट खुसी साटासाट गरिन्छ ।

पर्वका नाममा तासजुवा खेल्ने, झगडा गर्ने, अपव्यय गर्ने, देखावटी र तडक भडक गर्नु मानवीय कमजोरी हुन् । मानिसहरू आपूm स्वयंले गरेका गल्तीका लागि पर्व परम्परालाई दोष लगाएर उम्कन मिल्दैन । सकारात्मक भाव, सामायिक सामाजिक तथा अन्य आवश्यकतामा रूपान्तरण हुने गरी जिम्मेवार भएर तिहार मनाऔँ । -लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन्