ताजा अपडेट »

भैरहवामा दुई सय बढीको म्ह पूजा : नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न माग

बुधबार, ०९ कार्तिक २०७९

भैरहवा । नेपाल सम्बत ११४३ को अवसरमा शुभकामना आदानप्रदानको साथै भैरहवामा २ सय बढीको म्ह पूजा गरिएको छ । नेवार समुदायमा मनाईने नेपाल सम्बतको अवसरमा नेवाः खलः सिद्धार्थनगरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सबैको म्ह पूजा गरिएको हो । सोही कार्यक्रममै गृहमन्त्री बालकृष्ण खाँणको पनि म्ह पूजा गरिएको छ ।

म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व भएको नेवाः खलः सिद्धार्थनगरका पूर्व अध्यक्ष विजय गोविन्द श्रेष्ठले बताए । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रुपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गर्ने गरिएको श्रेष्ठले जानकारी दिए । यस दिन आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिएको छ ।

श्रेष्ठका अनुसार नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । समग्र देवता ऊर्जा शक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको श्रेष्ठका भनाई छ ।

नेपाल सम्बत र बिक्रम सम्बतमा २४ दिनको मात्र फरक परेता पनि नेपाल सम्बतलाई नेवारी समुदायको मात्र रहेको भन्दै यसलाइ हेय दृष्टिले हेर्ने गरेको नेवारी अगुवाहरुको गुनासो छ । नेवार अगुवा विजय गोविन्द श्रेष्ठले बिक्रम सम्बत भारतबाट आयतित सम्बत भएकोले यसको सट्टा नपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा मान्यता दिनु पर्ने बताए । सोही कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस बिषयमा छलफल अगाडी बढाउने बताएका छन् । उनले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको बताए । नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय बिभूति शंखधर साख्वालाई सम्झिदै उहाले जुनसुकै भाषाको भए पनि साहित्यकारहरु नेपालको गहना रहेको बताए ।