ताप्लेजुङ । तिहारको मध्य समय तिहार आएसँगै फुङ्लिङ नगरपालिका–४ का उशन फुरुम्बूको व्यस्तता बढेको छ । तिहारका लागि अल्लोको टोपीको माग बढेको छ । माग धान्न अहिले अल्लोको धागो खेलाउन दैनिकी बनेको छ ।
फुरुम्बु बिहानैदेखि रातिसम्म कपडा सिलाउने मेसिनमा अल्लोको टोपी सिलाउनुमा व्यस्त छन् । मेसिन चलाउनु, धागो र कैँची खेलाउन उनको पुर्ख्यौली पेसा भने होइन । तीन चार महिना अगाडि मात्र यी काम उहाँले सिक्नुभएको हो ।
उनकी श्रीमती आशा लिम्बूले ताप्लेजुङमा पहिलोपटक उत्तम अल्लो कपडा उद्योग सञ्चालनमा ल्याउनुभयो । लिम्बू आफैँले अल्लोको धागो बनाएर कपडा बस्थे । विस्तारै अल्लोको कपडा उत्पादन हुनथाल्यो । फुरुम्बुले उत्पादन भएको अल्लोको कपडा ढाकाको टोपी बुन्न सिक्न थाले । सिकेको चार पाँच महिनामा राम्रो टोपी सिलाउन थाले।
अहिले उनी माग आएको अल्लोको टोपी सिलाउनमा व्यस्त छन् । उनले भने, “अगाडि सिलाएको टोपी बिक्री भइसक्यो । अहिले मागअनुसारको टोपी सिलाउँदै छु ।” अल्लोको कपडाको टोपी रु छ सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आउनुभएको उहाँले बताए । तिहारको विशेष भाइटीकाका लागि अल्लोको टोपीको धेरै माग आएको छ ।
बजारमा देउसीभैली कार्यक्रम चलिहरेको छ तर फुरुम्बु भने अल्लोको टोपी सिलाउनमै व्यस्त हुन्छन् । उनलाई देउसीभैलो कार्यक्रम हेर्न बाहिर निस्कनसम्म फुर्सद छैन ।
यता ढाकाको टोपीको व्यापार भने घटेको छ । फुङ्लिङ नगरपालिका–४ का ताप्लेजुङ ढाका पसल सञ्चालक कुमार येङ्देनले अघिल्लो वर्षको तिहारमा एक हजार ४० थान ढाकाको टोपी बिक्री गरे।
टोपी बिक्रीबाट राम्रो मनग्य आम्दानी लिए। यस वर्षको तिहार मध्य समय भएको छ तर येङ्देनले अहिलेसम्ममा एक सय थान मात्र टोपी बिक्री गरेका छन् । दसैँ तिहारमा विगतमा जस्तो ढाकाको टोपीको व्यापार नभएको फुङ्लिङ–७ अवस्थित सोनी ढाका कपडा उद्योगका कार्यरत एक उद्यमीले बताए ।
लामो समयदेखि ढाकाको टोपी प्रयोग गर्दै आएका उपभोक्तामा अल्लोको कपडा रोजाइमा पर्न थालेको फुङ्लिङ–५ का विक्रम लिम्बूले बताए । उनले भने, “उपभोक्ता जहिले पनि नयाँ वस्तुको खोजीमा हुन्छन् ।
ढाकाको टोपी विगतदेखिनै प्रयोगमा छ । अल्लोबाट बनेको टोपी भर्खरदेखि प्रयोगमा आउँदै छ ।” ताप्लेजुङमा अल्लोको टोपी प्रयोगमा आउन थालेको धेरै समय भएको छैन । त्यसैले पनि उपभोक्ताको रोजाइमा पर्न थालेको पाइन्छ । -रासस
प्रतिक्रिया