ताजा अपडेट »

पाठेघरबाट निकालियो पाँच किलोको ट्युमर

मंगलबार, ०१ पुस २०७६

पुस १,

जलेश्वर । जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा.सुमना थापाको नेतृत्वको टोलीले पाठेघरमा रहेको पाँच किलोको ट्युमर निकाल्न सफल भएको हो ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३ खखना बस्ने ६२ वर्षिया काशी देवीको पाठेघरमा रहेको ट्युमरलाई नेपाली सेनाको चिकित्सीय टोलीले सफलता पूर्वक ट्युमर निकालेको हो । डा. सुमना थापाले डेढ घण्टाको सफल शल्यक्रियापश्चात आफुहरुको टोलीले सो ट्युमर निकाल्न सफल भएको बताइन् । उनले नेपाली सेनाले अहिलेसम्म गरेको छ वटा वृहत निःशुल्क शिविरहरुमध्ये पहिलोचोटी यस्तो ठुलो ट्युमर निकाल्न सफल भएको जानकारी दिनुहुदै शल्यक्रिया पश्चात विरामीको अवस्था सामान्य रहेको जानकारी दिए ।

शल्यक्रिया गर्ने टोलीमा डा.सुमना थापासहित डा.श्रृजन मल्ल, डा।थानेश्वर रिजाल तथा नर्स रुपा गौतम रहेका थिए । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३ खखनामा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा चेकजाँच पश्चात उनलाई नेपाली सेनाकै गाडीमा शल्यक्रियाको लागि सोमबार जलेश्वर अस्पताल ल्याइएको थियो । काशी देवीकी बुहारी पवन देवीले तिन वर्षदेखि सासुलाई भारतको भिस्वामा लगेर उपचार गराएको बताए ।

त्यहाँ पेटको शल्यक्रिया गरी केही मासु काटेर ठिक भएको भन्दै पठाएको जानकारी दिदैँ त्यसको केही महिनापछि फेरी सासुको पेट बढेको देखेपछि उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगेको जानकारी दिइन् । अञ्चल अस्पतालले चितवनस्थित क्यान्सर अस्पताल रेफर गरेपछि त्यहाँ तिनमहिनापछि आउन भनेपछि सासुले डरले उपचार नगराएको बताउनुहुँदै त्यसपछि रोग सहेर बसेको बताए । विरामीसंगै जलेश्वर अस्पताल आउनुभएका विरामीका छोरी ज्वाँई रामईश्वर यादवले पटक–पटक विभिन्न ठाउँमा रोग देखाएपनि डरको कारणले सासुले उपचार गराउन नमानेको तर गाउँमै शिविर आएपछि अपरेशन गर्ने भनेपछि उपचार गरिएको बताइन् ।

नेपाली सेनाका अब्बल चिकित्सकहरु आउने र अपरेशन गर्ने बताएपछि सासुले चेकजाँच गराउन र अपरेसन गर्न नमानेको उनले बताइन् । मङसिर २७ गतेदेखि शुरु भई पुस ५ गतेसम्म चल्ने सो शिविरमा नेपाली सेनाले चेकजाँचसँगै औषधीहरु पनि निःशुल्क वितरण गरिरहेका छन् भने शल्यक्रिया गरिने विरामीहरुलाई खखनाको शिविरस्थलबाट बसबाट जिल्ला अस्पताल जलेश्वर पठाउने गरेका कारणले बिरामीको संख्या शिविरमा बढेको छ ।

जलेश्वरस्थित रणभिम गणका गणपति विदुर अधिकारीले तिन दिनमा ४ हजार ८ सय १७ महिला र ३ हजार ६ सय ९८ पुरुष गरी जम्मा ८ हजार ५ सय १५ जनाले स्वास्थ्य उपचार पाएको जानकारी गराउनुहुँदै शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई जलेश्वर अस्पतालमा शल्यक्रिया भइरहेको जानकारी दिए । तिन दिनमा जलेश्वरमा ७० जनाको शल्यक्रिया गरिएको छ ।- गोरखापत्र अनलाइन