पाल्पा । नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी हार्न नहुने बताएका छन् ।रामपुर नगरपालिका वडा नं. १० धन्सारको घरदैलो कार्यक्रममा नेता आचार्यले एमाले हार्दा देशले हार्ने बताए । देशलाई हार्न नदिन एमालेले जित्नु अनिवार्य रहेको भन्दै नेता आचार्यले देशलाई जोगाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले जित्नेगरी तयारीमा जुट्न पार्टी पङ्तिलाई निर्देशन दिए ।
आचार्यले एमालेले हरेक परिस्थितीमा राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा आवाज उठाउने गरेको भन्दै एमालेप्रति जनताको विश्वास रहेको बताए । कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ (१) का उम्मेदवार राजु प्रसाद श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्नसके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको बताए । आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ छ । श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र पूरा गरेरै छाडने दृढता समेत व्यक्त गरे ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ (२) का उम्मेदवार खेम सारुले माथागढी वडा नं. ३ को ओलेसमा घरदैलो गर्दै एमालेलाई जनतासँग जोड्ने, वर्तमान सरकारले गरेका राष्ट्रघाती कदम, जनविरोधी गतिविधि, महँगी, भष्ट्राचार, असमान विकास बजेटको वितरण, परिवारको नाममा भएका ट्रस्टहरूमा करौडौँ वितरण गरी राज्यको रकम दुरुपयोग, वैदेशिक हस्तक्षेपका विषयमा जनताले राम्रोसंग बुझेको बताए ।
सारुले एमालेको पालामा जारी गरेको चुच्चे नक्साको बारेमा भारतसँग गर्नुपर्ने कूटनीतिक कदमको विषयमा सरकार लम्पसारवादी बनेको, सीमा अतिक्रमण भई रहँदा सरकार मुकदर्शक बनेको, बजेट निर्माण गर्दा भएको नीतिगत भ्रष्टाचार, एमसिसी, एसपिपीलगायत सत्तारुढ गठबन्धनले गरेको अन्य ज्यादतीहरूको भण्डाफोर गर्नुपर्ने बताए ।
प्रतिक्रिया