बुटवल । रुपन्देही क्षेत्र नंं.२ मा उम्मेद्वारी दिएका गणेश पौडेलले युवा नेतृत्व आवश्यक रहेको बताउँदै प्रतिष्पर्धामा उत्रिएको बताएका छन्। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वारी दिएका पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको हुँदा आफूले उम्मेद्वारी दिई सोहीअनुसार अगाडि बढेको जनाए ।
शनिबार बुटवलका पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले देशभर युवाहरुमा जागरुकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरुलाई अगाडि सारेको हुँदा अबको प्रतिष्पर्धामा युवाको साथ मिल्ने बताए । उनले भने‘ लामो अस्थिर राजनीति र वृद्ध नेतृत्वहरुबाट स्थिरता सम्भव नभएको हुँदा मुलुकमा राजनीतिक स्थिरता र नयाँ सोँचअनुसार अगाडि बढ्न युवा नेतृत्व र सहभागिताको आवश्यकता छ । सोहीअनुसार हाम्रो पार्टीले यस क्षेत्रमा मलाई अगाडि सारेको छ ।
उनले पछिल्लो समयमा युवाहरुले नेतृत्वमा परिवर्तन चाहेको हुँदा आफ्नो माहौल रहेको दावी गरे । उनले भने ‘पटक–पटक चुनाव जितेर दशकौं नेतृत्वमा रहँदा पनि समाज र राज्यका क्षेत्रमा उल्लेख्य परिवर्तन भएन । उल्टै अनियमितता,ढिलासुस्ती,भ्रष्टाचार जस्ता हितविपरितका गतिविधिबाट जनता आजित भएका छन् । त्यसैले पनि जनताले नयाँ सोँच भएको र स्वच्छ तवरले देशलाई केही गर्छु भन्ने युवाहरुलाई अगाडि बढाउन चाहेको हुँदा हामी आएका हौं । मलाई रुपन्देही क्षेत्र नं.२ का जनताहरुको साथसँगै मत मिल्ने कुरामा विश्वास छ ।’
प्रदेशसभा खारेजी,निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य,धर्म,संस्कृति र इतिहासको संरक्षण, भ्रष्टाचारीलाई कारवाही गर्ने , स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, लुम्बिनी क्षेत्रलाई शान्तिको राजधानी घोषणा गराई विश्वभरका पर्यटकलाई भित्राउने, बुटवलको सडक र खानपानी समस्या समाधान गर्ने, व्यापारी,कृषक, विद्यार्थी तथा युवाहरुसँग हातेमालो गर्ने युवाहरुलाई रोजगाारीको अवसर सिर्जना र कृषि औद्योगीकरण गर्ने,रुपन्देहीलाई मौलिकतासहितको अन्तराष्ट्रिय स्तरको शहरको रुपमा विका गर्ने लगाएतका उनका मुद्दाहरु रहेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव जित्दै आएका छन् । आगामी निर्वाचनमा उनी मुख्य दावेदारका रुपमा रहेका छन् । सत्तारुढ ५ दलका साझा उम्मेद्वार राजु गुरुङको उम्मेद्वारी खारेज र चर्चामा रहेका लौरो चिन्हका कमल भुसाल ‘निकोलस’को उम्मेद्वारी पनि विचाराधिन रहेको अवस्थामा आफू पनि मुख्य प्रतिष्पर्धी रहेको पौडेलको दावी छ ।
उनले भने ‘विष्णु पौडेलसँग मुख्य प्रतिष्पर्धी मानिएका एक जनाको उम्मेद्वारी खारेजी भएको र अर्का एक जनाको विचाराधिन रहेको अवस्थामा हामी पनि मुख्य शक्तिका रुपमा रहेको महसुस गरेका छौं । त्यसो त हाम्रो प्रतिष्पर्धा उहाँहरुसित पनि हो । मनोनयन गर्दानै सबै उम्मेद्वारसँग प्रतिष्पर्धा गर्ने तयारी र सोँचका साथ अगाडि बढेका हौं । उहाँहरु नहुँदा हामीलाई साथ मिल्ने अपेक्षा रहेको छ । ’
स्वतन्त्र पार्टीका उम्मेद्वार पौडेलले सत्तारुढ गठबन्धन, रुपन्देही क्षेत्र नंं. २ सँग सहकार्यका लागि आह्वान गर्ने समेत बताए । उनले भने ‘सत्तारुढ ५ दलीय गठबन्धन उम्मेद्वारविहन रहेको छ । उहाँहरुसँग सहयोगको आह्वान गर्दै सहकार्य गरेर अगाडि बढ्ने सोँच छ । छलफल भइरहेको छ ।’
पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेद्वार लक्ष्मी खासु मगर ,पार्टीका लुम्बिनी प्रदेश कमिटि कोषाध्यक्ष सालिकराम घिमिरे, प्रदेश कमिटि सदस्य लक्ष्मण खड्का,निर्वाचन परिचालन कमिटि सदस्य पोषण पाण्डे,प्रदेश सदस्य अच्युत कंडेल लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया