ताजा अपडेट »

बैंक ब्याजविरुद्ध भैरहवाका ब्यवसायीहरु आन्दोलित

शुक्रबार, ०४ कार्तिक २०७९


भैरहवा । बैंक तथा वित्तीय संस्थाले पूँजी तरलताको अभाव भन्दै कर्जा प्रवाहमा कडाई र व्याजदर चर्को कायम गरिएको भन्दै रुपन्देहीका उद्योगी ब्यवसायीहरु आन्दोलित भएका छन् ।

ब्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुद्वारा हाल कायम गरिरहेका उच्चतम ब्याजदर तथा विभिन्न सेवाशुल्कहरु तत्काल पुनरावलोकन गर्न र चालुपूँजी कर्जा निर्देशिका खारेज गर्न माग राख्दै नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । रुपन्देहीमा क्रियाशिलरुपन्देही उद्योग संघ, रुपन्देही ब्यपार संघ, बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, उद्योग ब्यपार संगठन रुपन्देही लगायत ५० वटा संघ संस्थाहरुले सञ्जाल गठन गरि बैंक तथा बित्तिय संस्थाहरुको बिरोध गरेका छन् ।

३ वर्षदेखि कोभिड १९ को प्रभावले उद्योग व्यवसाय क्षेत्र तहस नहस भएको र कोभिडको प्रभावबाट उम्कन नपाउँदै बैंक तथा वित्तिय संस्थाहरुद्वारा अत्याधिक मात्रामा व्याज वृद्धी गरिनाले उद्योगी व्यवसायीहरु ठूलो मर्कामा परेको उनिहरुको भनाई छ ।

“लामो समयको प्रभावबाट उद्योगहरुलाई बचाईराख्न हामीले सरल कर्जा प्रवाह र सहुलियत ब्याजदर कायम गरिनु पर्दछ भनेर पटक पटक आवाज उठाउँदै आएका छौ ।” सञ्जालका संयोजक माधव प्रसाद पौडेलले भने “तर राज्यका निकायले उद्योगी व्यवसायीहरुको भावना विपरित नीति लागू गरिदिदा उद्योगी व्यवसायीहरु शंसकित बन्दै गएका छन् ।”

पूँजी विस्तार गरी उद्योग व्यवसायलाई बचाई राख्न कोसिसरत उद्योगी व्यवसायीहरु हाल नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएको चालू पूँजी कर्जा निर्देशिका २०७९ को प्रभावले आन्दोलित बनाएको पौडेलले बताए । उनका अनुसार यसको असर स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा समेत अवश्य परेको छ ।

उद्योगी व्यवसायीहरुका विरोधका बाबजूद एकलौटी ढंगबाट निजी क्षेत्र प्रभावित हुनेगरी उक्त निर्देशिका लागू गर्न खोजिए व्यवसायिक संघसंस्थाहरु आ–आफ्ना कारोबारहरु बन्द गरी चरणवद्ध रुपमा आन्दोलनमा जाने ब्यवसायीहरुले चेतावनी दिएका छन् ।
समग्र उद्योगी व्यवसायीहरुको मागलाई तत्काल सम्बोधनका लागि कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न ब्यवसायीहरुले नेपाल राष्ट्रबैंकसँग माग राखेका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने “सर्वज्ञ” ले राज्यले बिभिन्न कारण देखाउदै बैंकहरुलाई निक्षेपमा ब्याजदर बढाउने सुविधा दिएको बताउछन् । “निक्षेपमा ११ देखि १५ प्रतिशत सम्म ब्याजदर दिनुले के देखाउछ भने तपाईले उद्योग ब्यपार नगर्नुस, रकम छ भने बैंकमा जम्मा गर्नुस र ब्याज खाएर बस्नुस ।” सर्वज्ञले भने “निक्षेपमा ६ देखि ७ प्रतिशत ब्याज हुनपर्छ र कर्जामा ८ देखी ९ प्रतिशत ब्याज लगाएर उद्योग धन्दा फस्टाउने माहौल बनाउनु पर्छ ।”

एकाएक ब्याजदर बढाई साँवा र किस्ता तिर्न बाध्य बनाउने निति ल्याएको हुनाले त्यसको बिरोध गरिएको न्यौपानेको भनाई छ । उद्योगी ब्यवसायीले यसरी आन्दोलन गर्दै चाबी ल्याएर सरकारलाई बुझाईदिए यसबाट बैंकहरु डुब्ने र बैंक पछि राष्ट्र नै डुब्ने अवश्था आउन सक्ने उनको भनाई छ । त्यसकारण सरकार र राष्ट्र बैंकले निति बनाउदा ध्यान दिएर बनाउनु पर्ने उनको तर्क रहेको छ ।

सिद्धार्थ बाणिज्य संघकै महासचिव विजय पाण्डेले बैंकको चर्को ब्याजदर र लुकेको नियमहरुका कारण ब्यपारीहरुले सास्ती खेप्नु परेको बताए । “हाम्रो घरबार डुब्ने स्थिति छ, उस्तै परे हाम्रो कपडा पनि खोलिएर नाङ्गै सडकमा आउनुपर्ने अवश्था बन्दै गएको छ ।” पाण्डेले भने “बैंकको ब्याज नितिले हामीलाई धेरै प्रभाव परेको छ ।”

ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्र बैक भैरहवाकी प्रमुख रञ्जना पण्डित (पौडेल) ले देशमा बिद्यमान देशमा मुद्राको श्रृजना गर्न सक्ने क्षमताको कमि भएको कारणले तरलतामा समस्या आएको र त्यसले गर्दा लगानी गर्ने साधनमा कमि आएको बताईन् । उनले देशका यो समस्या उद्योगी ब्यवसायीले पनि बुझिदिन आग्रह गरिने ।

“कर्जालाई ब्यवस्थित गर्न, कर्जा घर जग्गा, शेयर जस्ता निर्देशित गरेको क्षेत्र भन्दा गलत क्षेत्रमा गयो कि भन्ने पनि देखाएको छ ।” उनले भनिन “यसलाई समयमा सुधार गर्नको लागि यो नीति ल्याईएको हो ।” उनले ब्यवसायीहरुलाई इमान्दारीपूर्वक ब्यवसायीहरुले भए गरेको अवश्था बारे राष्ट्र बैंकलाई जानकारी गराए समझदारीमा पनि समस्याको समाधान हुन सक्ने बताईन ।