ताजा अपडेट »

झिनुवाको हव बन्दै गुल्मीको वामीटक्सार, सरकारको बेवास्ताले उद्योगको रुप लिन सकेन

शुक्रबार, ०४ कार्तिक २०७९

गुल्म । तिहारका लागि गुल्मीमा हरेक वर्ष लाखौं मूल्य बराबरका झिनुवा रोटी उत्पादन हुँदै आएको छ । अन्य जिल्लाहरुमा समेत निर्यात गर्नेगरी स्थानीयले उत्पादन गर्दै आए पनि सरकारको बेवास्ताले त्यसको लेखाजोखा नहुनुका साथै यसले उद्योगको रुप लिन नसकेको स्थानीयको गुनासो छ ।

जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा रोटी उत्पादनको हव बन्दै गएको छ । जहाँ वार्षिक करिब ५० लाख बराबरको झिनुवा रोटी उत्पादन हुने गरेको स्थानीय दाबी गर्छन् । छिमेकी जिल्ला बाग्लुङ्गदेखि बुटवलसम्मको माग आफूहरुले थेग्न नसकेको उत्पादकहरु बताउँछन् । गुल्मी सदरमु्काम तम्घासको पुरानो बजार र बागमारेका नेवार समुदाय सदियौंदेखि झिनुवा रोटी उत्पादन गर्नमा कहलिएका थिए । तर अहिले त्यहाँभन्दा बढी झिनुवा रोटी उत्पादन गर्ने वामीटक्सारका नेवार समुदाय बनेका छन् । करिव सय घरधुरी नेवार समुदाय रहेको वामीटक्सारमा अहिले झण्डै ८० प्रतिशतले झिनुवा रोटी बनाउने गरेका छन् ।

अन्य समुदाय सहित करिव ५० घरधुरी नेवार समुदायले झिनुवा रोटी उत्पादन गर्दै आएका छन् र वार्षिक झण्डै ५० लाख आम्दानी लिईने गरेको आँकलन उनिहरु सुनाउँछन् । तिहार भित्रिए लगत्तै यहाँका प्रत्येक घरका छानादेखि घरको तलाहरुमा रंगिबिरंङ्गी झिनुवा रोटी सुकाइएको दृश्यले तिहार भित्रिएको महशुस हुन्छ । वामीटक्सार बजारका सुशान्त शाक्य २०/२२ वर्षका युवा हुन । उनले एउटै सिजन तिहारमा मात्रै करिव २ लाख रुपैयाँ आम्दानी लिने गरी झिनुवा रोटी बनाउन भ्याई नभ्याईमा छन् । वामीटक्सारमा सबैभन्दा बढि झिनुवा रोटीको कारोवार गर्ने बिष्णुमति श्रेष्ठ हुन । एकल महिला उनले मुख्य ब्यवसायका रुपमा झिनुवा रोटी उत्पादनलाई बनाईन । त्यसैबाट छोरा छोरी पढाउनेदेखि सडक छेउँमा पक्की घर ठडाएकी छन् । चार जनालाई रोजगारी समेत दिएकी श्रेष्ठले एकै सिजन तिहारमा मात्रै करिव ६ लाखसम्म कमाउने र माग थेग्न नसकिएको बताउँछिन् ।

उनले सरकारी निकायले अगुवाई गरे उक्त पेशा ठूलै उद्योगका रुपमा अगाडी बढाउन सकिने बताउँ छिन् । तिहारको सिजनमा करिव २ लाख रुपैया आम्दानी लिने लक्ष्य लिएका जगनाथ प्रधान दशैताका एक हप्तासम्म पानी परिरहेको बेला क्षति ब्यहोरेको तर पनि हरेस खानु पर्ने अवस्था नरहेको बताउँछन् । उनकी पत्नी बसन्ती श्रेष्ठ प्रधान सरकारी निकायले चाउचाउ र चाउमिन जस्तै उद्योगका रुपमा बिकास गर्न चाहे राम्रो हुने बताउँछिन् ।

त्यहाँका अमृत श्रेष्ठले झण्डै तीन लाख आम्दानी लिने गरेको र तिहारको बेला माग थेक्न गाह्रो भएको बताउँछन् । वामीटक्सार बजारमा झिनुवा रोटी उत्पादनमा बिष्णुमति श्रेष्ठपछि बढी आम्दानी लिने ब्यक्ति हुन मेघ प्रसाद श्रेष्ठ । उनले करिव ५ लाखको झिनुवा बेच्ने गरेको र स्थानीय सरकारले उद्योगका रुपमा बिकास गर्नु पर्नेमा जोड दिन्छन् । त्यस बजारका भगवान कक्षपति, नन्दु कँडेल, शेरबहादुर रोकाय, धनमायाँ राना, बिष्णु शाक्य बन्धना श्रेष्ठ, शान्ति श्रेष्ठ लगायतले ठूलो परिमाणा झिनुवा रोटी उत्पादन र विक्रि वितरण गर्ने गरेका छन् ।

वामीटक्सारपछि अर्को पुरानो ब्यापारिक केन्द्र रिडी, जोहाङ्ग, खैरेनी, शान्तिपुर, पुर्तिघाट, बलेटक्सार, रानीवास, धुर्कोट वस्तु र सदरमुकाम तम्घास सहित झिनुवा रोटीबाट बर्सेनी करोडौंको आम्दानी लिने गरिएको छ । तर त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा स्थानीय सरकारले चासो नदिदा त्यस ब्यवसायले उद्योगको रुप लिन नसकेको स्थानीयको गुनासो छ । गुल्मीको मुसिकोट नगरपालिकाले कफी हबका लागि अगुवाई गरेजस्तै झिनुवा उत्पादनको हबका लागि पनि अगुवाई गर्न सके राम्रो हुने स्थानीयको सुझाब छ ।