पाल्पा । पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सोम प्रसाद पाण्डेयले जनताको साथ र विश्वासका कारण आफूलाई गठबन्धनले उम्मेद्वार बनाएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका लुम्बिनी अध्यक्ष समेत रहेका नेता पाण्डेयले तानसेन-९ मदनपोखराको डाँडाडुममा सम्बोधन गर्दै पाल्पाली जनताले विश्वास गरेकै कारण गठबन्धनको नेतृत्व गर्दै अघि बढेको बताए । नेता पाण्डेयले पाल्पामा लामो समय सांसद भएर विभिन्न विकास निर्माणका काममा सहकार्य गरेर अगाडी बढेको दाबी गरे ।
नेता पाण्डेयले मदनपोखराको अम्लिहानमा पोलिटेक्निकल कलेज स्थापना गर्न लामो कसरत गर्नुपरेको भन्दै यसका कारण मदनपोखरा देशकै शैक्षिक हब बनेको बताए । पाण्डेयले मदनपोखरादेखि डाँडाडुम जोड्ने डिल बहादुर मार्ग अम्लेहान, तिनपिप्ले, आरुखर्क, दमकडा आर्यभञ्ज्याङ्ग सडकमा पटक पटक बजेट विनियोजन गरेर स्तरोन्नती भईरहेको र यो आर्थिक बर्षमा पनि कार्यसम्पन्न हुने गरि प्रशस्त बजेट छुट्याएको बताए ।
नेता पाण्डेयले आफ्नो कर्मभूमि मदनपोखराको विकासका लागि डिल बहादुर मार्गको स्तरोन्नती गर्न ४० करोड बजेट विनियोजन गरेको र थप कामका लागि बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । यो बजेट अहिलेसम्मकै यस क्षेत्रको सबैभन्दा ठूलो बजेट भएको नेता पाण्डेयले दाबी गरे । नेता पाण्डेयले यो सडक स्तरोन्नती भएपछि यहाँका नागरिकको जिवनपद्धती नै परिवर्तन हुन सहयोग पुर्याउने बताए ।
कार्यक्रममा गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं २ (१) उम्मेद्वार वीर बहादुर रानाले पाल्पामा गठबन्धनको जित सुनिश्चित भएको बताए । नेता रानाले लामो समय राजनैतिक रुपमा महत्वपूर्ण योगदान दिएका नेताहरु उम्मेद्वार भएका कारण पाल्पाली जनताले विजयी बनाउनेमा विस्वस्त रहेको बताए ।
प्रतिक्रिया