मंसिर ३०,
ग्लोबल आवाज
बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले ५९ औँ वार्षिक उत्सवको अवसरमा नगरस्तरीय कालिका रनिङ् शिल्ड प्रतियोगिताको सञ्चालन गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद’ भन्ने उद्देश्यका साथ विद्यालयले पठन पाठनसँगै राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्नका लागि कालिका रनिङ् शिल्ड प्रतियोगिताको आयोजना गरेको प्रधानाध्यापक घनश्याम पाठकले बताए ।
विद्यालयले प्रतियोगितामा विजेतालाई प्रदान गर्ने कालिका रनिङ शिल्डको औपचारिक रुपमा सार्वजनिक गर्दै बुटवल उप–महानगरपालिका खेलकूद बिकास समतिका अध्यक्ष नन्दु काउचाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । विद्यालय स्तरबाट नै खेलकूदको बिकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिने बताउँदै उनले समृद्ध मुलुक निर्माणका लागि खेलकूदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । विद्यालयको वार्षिक उत्सवको अबसरमा आयोजना गरिएको खेलकूद प्रतियोगिताहरु बारे जानकारी गराउदैँ खेल प्रशिक्षक हरि बहादुर वलीले यस क्षेत्रमै फरक ढङ्गको प्रतियोगिताको आयोजना गर्न लागेको बताए । प्रतियोगितामा नगरभित्र रहेका समुदायीक तथा संस्थागत गरी करिब ४० वटा विद्यालयका १२ सय खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जानकारी गराए ।
रनिङ् शिल्डमा १४ स्वर्ण, १४ रजत र १४ कास्य गरी कुल ४२ पदकका लागि प्रतिस्पर्धा हुने छ । रनिङ् शिल्ड अन्तर्गत अन्तर मा.वि.नगर स्तरीय भलिबल छात्र–छात्रा, अन्तर मा.वि. नगरस्तरीय कबड्डी छात्र–छात्रा, एथलेटिक्स ट्रयाक छात्रहरुको लागि ८ सय, १ हजार ५ सय र ५ हजार मिटरको प्रतिस्पर्धा हुने छ । छात्राहरुको लागि ८ सय, १ हजार ५ सय र ३ हजार मिटरको एथलेटिक्स ट्रयाकमा प्रतिस्पर्धा गर्ने छन् । छात्र–छात्राका लागि फिल्ड तर्फ लङ्जम्प, सटफुट प्रतियोगिताहरु रहेका छन् । प्रतियोगितामा आयोजना गरीएको विभिन्न १४ वटा इभेन्ट्समा सबै भन्दा बढी स्वर्ण, रजत र कास्य जित्ने विद्यालयलाई रनिङ् शिल्ड प्रदान गरिने छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ५ हजारसहित रनिङ् शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसेगरी द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार र २० हजारसहित रनिङ् शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका विजेताहरुलाई वार्षिक उत्सवको मूल समारोह पुस ७ गतेका दिन पुस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया