बुटवल । पाल्पाको रैनादेबी छहराका स्थानीय हरिप्रसाद पौडेलको उम्मेदवारहरुसँग एउटै गुनासो छ ‘गाउँमा पानी पीउने व्यवस्था हुनु पर्यो ।’ वडा नम्बर ३ भुवनपोखारीका पौडेलको घर नजिकै खानैपानी आयोजनाका लागि ल्याइएको १० लाख मूलय बराबरको पाइप त्यसै थन्किएको छ । बजेट अभाव तथा समयमै योजनाका काम नहुँदा पानी पिउने सपनापनि अधुरै छ । गाउँमा मत माग्न आउने नेताहरुसँग उनले हरेक नेताहरुसँग एउटै गुनासो गर्छन् ‘पानी पिउन पाइएन ।’
बुधबार घरदैलो अभियान अन्तरगत उनको घरमा पुगेका एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेलाई पनि स्थानीय पौडेलले सोही गुनासो सुनाए । त्यस गाउँमा उनी मात्रै नभाई धेरैको गुनासो खानेपानी अभावकै छ । यसैगरी गाउँमा आउने सडकको स्तरोन्नती, विद्यालयको भौतिक पूर्वाधार विकास उनीहरुका नियमितकै समस्या हुन् । घर दैलोमा पुगेका गैरेले जनताका आधारभूत आवश्यकताहरुलाई पहिलो प्राथमिकता र क्रमैसँग योजनाबद्ध बिकासको एजेण्डासहित चुनाबी मैदानमा उत्रिएको बताउँदे जिताएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे । यसअघि निर्वाचित जनप्रनिधिहरुले धोका दिएका कारण भुवनपोखरीको बिकास हुन नसकेको त्यहाँका जनताहरुको आक्रोस थियो । एमाले उम्मेदवार गैरेसँग कुरा गर्दै स्थानीयले यस पटक नयाँ अनुहारलाई साथ दिने प्रतिवद्धता समेत गरेका थिए ।
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दल तथा तिनका उम्मेदवारहरु जनताको घर–घरमा पुगेका छन् । यसैबीच पाल्पाको २ नम्बर क्षेत्रमा पनि चुनावी अभियानलाई दलहरुले कायम राखेका छन् । निर्वाचन आचार संहिता अनुसार कार्तिक १७ गतेसम्म चुनावी सभा सम्मलेन गर्न नपाइने भएपनि दलका उम्मेदवारहरु जनताको घरमा मत माग्न जाने कामलाई भने तिब्रता दिएका छन् ।
सोही क्रममा एमाले उम्मेदवार गैरे रैनादेवी छहराको विभिन्न वडामा जनतासंग भेटघाटमा व्यस्त छन् । भूवनपोखरीमा भएको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा सहभगी जनताले जोगवाणी माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनको व्यवस्था गरिदिन अनुरोध गरेका छन् । उनीहरुले रैनादेवी मन्दिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास तथा तालपोखराको लिफ्टिङ खानेपानी सम्पन्न गर्नका लागि ठोस योजना ल्याउन आग्रह गरेका छन् ।
उम्मेदवार गैरेले एमालेको पराजयले रैनादेवी छहरामा विकासको गुनासा बढ्दै गएको बताए । पाँच महिनामा स्थानीय सरकारको महसुस गर्न पाएका छैनन् तर अव विकासको महसुस गर्नेगरी काम गरिने बताए । उनले नेताको चुनाव जितेर नफर्कने प्रवृत्तिको अन्त्य गर्ने बताए । नेता गैरेले भोट किन्ने होइन मतको कदर गर्नेलाई भोट दिन आग्रह गरे । नेता गैरेले अबको ५ वर्षमा अम्लाबास भुवनपोखरी हुँदै अर्घाखाँची जाने मोटरबाटो कालोपत्रे गर्ने बताए । यसका साथै खानेपानी योजना सम्पन्न गर्न पहल गर्ने बताए । साथै जोगवाणी माविमा गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालन गर्न प्रतिबद्धता जनाउँदै रैनादेवी मन्दिर शिवालय मन्दिरलाई विकास गरेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए ।
घरदैलो अभियानमा प्रदेशसभा सदस्य पदका उम्मेदवार ओमबहादुर घर्तीमगरले जनताको विकासका लागि आफूहरु अहोरात्र खट्ने बताए । उनले कृषि, स्वास्थ्य खानेपानी लगायतका समस्या समाधानमा जनतासंगै बसेर योजना निर्माणगरी कार्यान्वयनमा लगिने प्रतिवद्धता गरे । कार्यक्रममा स्थानीय ओमबहादुर थापाले पछी परेका वर्ग क्षेत्र र लिंगको हितमा काम गर्ने पार्टी एमाले भएको बताए ।
एमालेनेता रामबहादुर राउतले स्वच्छ छवि भएका नेता उम्मेदवार बनेकोले एमालेलाई मत दिन आग्रह गरे । मुलुकमा सुशासन कायम गर्न एमालेको जित आवश्यक रहेकोले मंसिर ४ गते एमालेलाई चुन्न अनुरोध गरे ।
प्रतिक्रिया