ताजा अपडेट »

नवौँ राष्ट्रिय खेलकुदको समापन आज, १० औँ प्रतियोगिताको आयोजकलाई झण्डा हस्तान्तरण गरिने

विहीबार, ०३ कार्तिक २०७९

पोखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज कात्तिक ३ गते समापन गरिँदै छ ।

प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।   यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदका उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

१० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र उक्त प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ । प्रतियोगिता समापनअघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।