ताजा अपडेट »

रुपन्देही-१ को उत्तर-दक्षिणलाई विकासले जोड्न दशगञ्जाबाट शुरुवात : एमाले सचिव विश्वकर्मा

बुधबार, ०२ कार्तिक २०७९

बुटवल । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्बर १ को उत्तर र दक्षिणलाई बिकासले जोड्न दशगञ्जाबाट सुरुवात भएको बताएका छन् । यस क्षेत्रको समानान्तर बिकासका लागि विगत ५ वर्षको अवधिमा धेरै कामको सुरुवात भएको उनको दाबी छ ।

आफू प्रतिनिधिसभा सदस्य हुनुअघि विगत २६ वर्षको नेपाली काँग्रेसले नेतृत्व गरे पनि जन चाहना अनुसार बिकास गर्न नसकेको उनको टिप्पणी छ । काँग्रेस नेतृत्वमा रहेको २६ वर्षसम्मको अवधीभन्दा आफूले नेतृत्व गरेको ५ वर्षको अवधिमा धेरै काम भएका उनको दाबी छ । विगका विभिन्न निर्वाचनहरुमा यस क्षेत्रबाट नेपाली काँग्रेस विजयी भएनर नेतृत्व गर्दै आएको थियो भने पछिल्लो पटक भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका विश्वकर्मा विजयी भएर ५ वर्ष विताएका हुन् ।

रुपन्देहीको देवदहमा नेकपा एमाले, राप्रपा र जसपा निर्वाचन संयुक्त महिला भेलालाई सम्बोधन गर्दै विश्वकर्माले राष्ट्रिय एकतालाई मजबुत बनाउन एमालेले राप्रपा र जनता समाजवादी पार्टी (जसपा) बीच चुनाबी तालमेल गरेको दाबी गरे । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वकर्माले राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीतिक दल रहने बताए । यसैगरी संविधानमा महिलाहरुको अधिकार स्थापित गर्न नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेता विश्वकर्माले धनश्याम भूषाल प्रति ईगित गर्दै एक पटक टिकट नपाउदैमा स्वतन्त्र उम्मेदवार बन्नु राजनीतिक बेईमानी भएको बताए । उनले तिन दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि अवका दिनमा वडा÷टोलमा केन्द्रित हुनु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सभा १(१) का उम्मेदवार आशिषकुमार चौधरीले सुखी नेपाली, समृद्धि नेपाल निर्माणको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेकोमा जोड दिए ।