पाल्पा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले यस अघि जितेर गएका संसदले प्रतिबद्धता अनुसार काम नगरेका कारण विकास हुन नसकेको बताएका छन् । रिब्दीकोट गाउँपालिकाको सिद्देश्वर र सर्देवाको घरदैलो अभियानका क्रममा नेता गैरेले यस्तो बताएका हुन् ।
नेता गैरेले गठबन्धनले स्थानीय स्तरका जन चाहना पूरा गर्ननसकेको र पदका लागि मात्रै अहिले सम्म राजनिति गरेकाहरु पुन सांसदका रुपमा उम्मेदवार भएर आएको बताए । नेता गैरेले पदका लागि पार्टी छाड्ने नेताले अब जनताको हितमा केही काम नगर्ने बताए । गैरेले साच्चिकै सिद्धेश्वर र सर्देवाको विकासका लागि एमालेका उम्मेदवारलाई सूर्यमा मत दिएर विजयी गराउन अपिल गरे । अहिलेको सरकारले स्वास्थ्य बिमाबाट पाउने सुविधा रोकेको भन्दै गैरेले एमालेले जितेपछि बिमाबाट पाउने सुविधालाई पहिलो निर्णय गरेर निरंतरता दिने बताए । भोट माग्न गाउँमा आउने त्यसपछि ५ वर्ष नफर्किने प्रवृत्तिको अन्त्य गर्ने नेता गैरेले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार ओम बहादुर घर्तीले कचलमा गाविस अध्यक्ष र तिनाउ गाउँपालिकामा अध्यक्ष भएर काम गरेकाले पार्टीले प्रदेशको उम्मेदवार बनाएको बताए । घर्तीले विगत ५ बर्षमा पाल्पाको सांसदले विभाजन बाहेक विकास नगरेको र ३० वर्षदेखि चुनाव लड्दै आएका पुराना नेतालाई पराजित गर्ने बताए । नेता घर्तीले वडा कार्यालयबाट गाउँपालिका जाने बाटो, मनभाग जाने बाटोमा नयाँ ट्यांकी, चिसापानी लिफ्टिङ खानेपानी योजना पुरा गर्न प्राथमिकता दिएर अघि बढ्ने बताए ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउतले ठाकुर गैरेको जन्मनै आन्दोलनका लागि भएको बताए । राउतले विद्यार्थी नेता हुँदा शैक्षिक आन्दोलन गरेका र लिपुलेक कालापानी हाम्रो भूमि हो भन्ने आन्दोलनमा निडर भइ लडेका गैरेलाई यसपाली पाल्पाली जनताले विजयी बनाउनुपर्ने बताए ।
प्रतिक्रिया