ताजा अपडेट »

मेरो पालामा अहिले जस्तो भोटका लागि तक्मा बाढ्ने काम हुदैनथ्यो : पूर्व गृहमन्त्री थापा

मंगलबार, ०१ कार्तिक २०७९

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले आफू गृहमन्त्री हुँदा अहिलेजस्तो पार्टीको भोटका लागि ‘तक्मा’ नबाढीएको स्मरण गराएका छन् । उनले आफूहरु सरकारमा गएपछि पनि अहिले जस्तो तक्मा नबाड्ने स्टपष्ट पार्दै रुपन्देही क्षेत्र नम्बर ३ मा तक्माको बाढीनै आएको जिकिर गरे ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर ३ को मंगलबार भैरहवामा भएको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटनमा बोल्दै थापाले अहिलेजस्तो नभई आफूहरु सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिने तर, पार्टीलाई भोट दिने शर्तमा तक्मा बाड्ने उल्लेख गरे । उनले राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले विकास निर्माणका काममा गरेका योगदान बारे चर्चा गरेका थिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समेत नेता बोहराको योगदान रहेको उल्लेख गरे । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनुपर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (ख)मा प्रदेशसभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले स्थानीय तह निर्वाचनको नतिजाले कांग्रेसको गठबन्धन एमाले भन्दा १२ हजार मतले पछाडि रहेको बताए । उनले भने, ‘हामी झुटो आश्वासन बाड्दैनौं ।’ रुपन्देही क्षेत्र नम्बर ३ (क) मा उम्मेदवार महेन्द्र यादवले एमाले, राप्रपा र जसपाको जीत सुनिश्चित रहेको दावी गरे । उनले विगतमा गरिएको संघर्षले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।