मंसिर ३०,
काठमाडौं । नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन भएको छ । उनको राती १० बजेर २० मिनेटमा निधन भएको हो ।हृदयघातका कारण उनको निधन भएको आशंका गरिएपनि के कारण निधन भयो भन्ने बारेमा खुल्न सकेको छैन । राती एक्काशि विरामी भएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको बाटैमा निधन भएको हो ।
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्माता तथा कलाकार भट्टराईले निर्माण गरेको पछिल्लो चलचित्र ‘यात्रा’ हो । उनले निर्माण गरेका थुप्रै चलचित्रले समाजमा राम्रो छाप छोडेका छन् भने व्यापार पनि उल्लेख्य गरेका छन् ।नेपाली चलचित्र क्षेत्रमा ३० वर्ष भन्दा धेरै समय बिताएका भट्टराईका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत दर्जनौं चलचित्र हिट भएका छन् ।
गएको ४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई नेपाली चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । यसअघिकी अध्यक्ष निकिता पौडेलले २२ माघ ०७५ मा पदबाट राजीनामा दिएपछि चैतमा भट्टराई अध्यक्षमा नियुक्त भएका थिए । उनको निधनले नेपाली चलचित्र उद्योगमा अपूरणिय क्षति पुगेको छ । ५१ वर्षिय भट्टराईका श्रीमती र एक छोरा छन् ।
प्रतिक्रिया