ताजा अपडेट »

ठेलामै मः मः बेचेर करोडपति

आइतबार, २९ मंसिर २०७६

मंसिर २९,

एन.बी.कंडेल / ग्लोबल आवाज

भैरहवा । सडक छेउ त्यो पनि शहरको भित्र, सामान्य एक ठेला, ठेला माथि स्टोभ, स्टोभ माथि मःमःको भाँडा र बाँया चट्नी राख्ने तपेश अर्को पट्टि पिउने पानी र तल ग्यास सिलिण्डर जम्मा देखिने स्थायी लगानी वा सम्पत्ति यत्ति नै हो । तर, यस ठेला र ठेला सञ्चालकको कथा प्ररणादायी छ । र, त्यति नै धेरै ठेलावालाको आम्दानी रहेको छ । तीन दशक भन्दा पहिलेदेखिका ठेलावाला अहिलेपनि उही ठेलावाला साहुजी नै छन् । तर, तिन दशकमा आफ्नो संघर्ष र मिहिनेतले सम्पत्ति भने करोड बढीको जोडेका छन । ३८ वर्ष अघिदेखि रुपन्देहीको भैरहवामा मःम बेच्दै आएका कृष्ण तिवारी अहिले पनि ठेलामा मःम बेच्दैछन् । त्यतिबेलाको मोःमो बेच्ने ब्राहमण यूवालाई ब्राहमण भएकै कारण पाएको पण्डित उपनाम अहिले ‘पण्डित मःमः ’को नामले बजारमा परिचित छ ।

उमेरले ५८ वर्ष लागेका कृष्ण तिवारीको मःमः खान भैरहवाका मात्र होइन तिलोत्तमा, बुटवल, रोहिणी, सैनामैना लगाएत र कपिलबस्तुको तौलिहवासम्मका मःमः पारखी आउने गरेको उनी बताउँछन् । त्यतिमात्र कहाँ होर, भारतको सुनौली र गोरखपुरदेखि पनि उनको मःमः खान आउने उनी बताउँछन् । नेपालमा जतिबेला मुग्लान जाने लहर थियो त्यतिबेला स्वदेशमै सामान्य मःमः पसल सुरु गरेका उनी अहिले करोडपति बनेका छन् । नेपालको स्याङ्गजामा पहाड घर भएका उनी भारतमा जन्मेका थिए । पछि नेपाल आएका उनको किशोरावास्थामा बुवाको देहान्त भयो । गरिब परिवारका उनलाई एक भाई दुई बहिनीको अभिभावकत्व निभाउनु पर्यो । सो क्रममा मजदुरी र जागिर गरेको उनी सम्झन्छन् । उनले भने ‘बुवा बित्नुभयो, सम्पत्ति खासै थिएन । भाई बहिनी पाल्नै पर्यो । केही समय मजदुरी गरेँ । केही समय भैरहवाकै एक किराना पसलमा जागिर गरेँ । त्यतिबेला महिनामा १२ सय तलब थियो ।’

मजदुरी र जागिर गरेपछि आफ्नो केही गरौं भन्ने सोँच आएपछि मःमः पसल सुरु गरेको उनी बताउँछन् । ३८ वर्ष अघि राष्ट्रिय वाणिज्य बैंक भैरहवाको नजिकै एक सटर भाडामा लिएर सामान्य मम, चाउमिन, चिया पसल सुरु गरेका उनको गतिले निरन्तरता पायो । शुद्ध खसीको मःमः सस्तो र स्वादिलो भएको बताउँदै ग्राहकको विश्वासले निरन्तरता पाएको उनको ठम्याई छ । ‘मैले मःमः पसल सुरु गर्दा ६ रुपैंया प्लेट थियो । ३० वर्ष बढी भयो । धेरै कुराको मूल्य आकाशिएको छ । तर, मैले अहिले मःमःको मूल्य प्रति प्लेट रु.१०० बनाएको छु । एक महिना अघिसम्म ८० रुपैंया प्लेट थियो ।’ उनले भने । दुई छोरा एक छोरीका पिता तिवारीलाई मःमः व्वसायमा टिक्नका लागि उनका सन्तान र श्रीमतीको महत्वपूर्ण साथ सहयोग रहँदै आएको बताउँछन् । उनी भन्छन् ‘बिहानै ५ बजेदेखि दुई छिमेकी र हामी परिवारका सबै सदस्य सहित ७ जनाले मःमः बनाउन सुरु गर्छौ ।’ उनको ठेलामा दैनिक दुई सयदेखि तीन सय प्लेटसम्म मःम बिक्री हुन्छ ।

त्यसका लागि दैनिक करिब १० किलो खसीको मःमः, करिब २० किलो मैदा र चट्नीको लागि १५/१६ किलो टमाटर खपत हुने उनका जेठा छोरा बताउँछन् । हरेक बिहान १२ बजेसम्म उनको घरमा मःमः बनाउने काम हुन्छ । त्यसपछि उनी खाना खाएर ठेला लिई घरभन्दा केही पर रहेको स्थानमा गई सुप पकाउने र मःमः पकाउने काम सुरु गर्छन् । सिद्धार्थनगर-५ मा उनको ठेला देखेपछि मम पारखीहरु आउन सुरु हुन्छ । उनी हरेक दिन एक बजेपछि मात्र आफ्नो व्यवसाय सुरु गर्दछन् । मःमः पसल सञ्चालन गरेर नै उनले आफ्ना भाई बहिनीको लालनपोषण, शिक्षा र विवाहको खर्च व्यवस्थापन गरेको बताउँछन् ।

त्यसैगरी उनका जेठा छोरा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययन गर्दैछन् भने अर्का कान्छा छोरा र छोरी कक्षा ६ मा अध्ययन गर्दछन् । तीन दशक अघि गरिबीसँग जुद्धनका लागि ठेलामा मःमः व्यवसाय सुरु गरेका तिवारी अहिलेपनि ठेलामै मःमः बिक्री गर्दछन् । उनको ठेलाको व्वसाय ठेलामै छ । तर, उनको आर्थिक अवस्था भने फेरीएको छ । उनले मःमः बेचेरै सिद्धार्थनगरमै दुई तले दुई ओटा घर बनाएका छन् । त्यसैगरी सिद्धार्थनगरमै उनले आकर्षक दुई घडेरी समेत जोड्न सकेका छन् । यसबाट पनि आंकलन गर्न सकिन्छ, ३८ वर्ष अघिका सामान्य कृष्ण तिवारी हाल करोडपति भएका छन् । यसको पहिलो श्रय उनी नै हुन् भने त्यो श्रयको आधार भने उनको ठेलाको मःमः व्यवसाय र उनको परिवारको मेहनतनै हो । केही वर्ष अघिसम्म उनका ४ वटा बस समेत रहेका थिए । तर, बसबाट आम्दानी र फाइदा भन्दा घाटा बेहोरेपछि बस बिक्री गरेको उनी बताउँछन् ।

तीन दशक अघि भैरहवामा थोरै संख्यामा मात्र होटल रहेको सम्झदै अहिले धेरै र प्रतिष्पर्धा बढेको उनी बताउँछन् । हाल दैनिक औसतमा दुई सयदेखि तीनसय प्लेट सम्म मःमः बिक्री गर्ने उनी दैनिक हजारौं बचत गर्न सक्दछन् । औसत दुुईसय पचास प्लेट मःमः बिक्री गर्दापनि उनको दैनिक आम्दानी २५ हजार देखिन्छ । मासु, मैदा, टमाटर, मट्टितेल, प्लेट लगाएतको करिब १५ हजार खर्च भएतापनि दैनिक १० हजार बचत हुने आंकलन गर्न सकिन्छ । जसबाट उनले महिनामै दुइदेखि तीन लाख आम्दानी गर्न सक्छन् । हाल सो क्षेत्रमा धेरै साना तथा ठूला होटल, रेष्टुरेण्ट लगाएत मःमः पसल सञ्चालन भएपनि उनको ठेलाको मःमःको स्वाद अन्त नपाउने उनका एक नियमित ग्राहकको अनुुभव छ । उनी भन्छन्, बाहुनको छोरो इमान्दार छ, शुद्ध, सफा र स्वादिलो मःमः बनाउँछ’ भन्ने धेरैको विश्वास छ । उहाँहरुको विश्वासले नै मैले निरन्तरता पाएको छु ।’ भैरहवा क्षेत्रमा खसीको मःमः भनेर बाख्रा र अन्यको मःमः बिक्री गर्ने भन्ने हल्ला चलेको बताउँदै उनी मासु ल्याउँदा आफूनै अघि बसेर काटेर ल्याउने गरेको बताउँछन् ।

आफूले लामो समयदेखि मःमः पसल गरेपनि आफ्ना छोराहरुले भने नगर्ने उनी बताउँछन् । म बुढो भएँ, अब धेरै सक्दिन । छोराहरु त पछि अरु नै काम गर्छन् ।’ उनले बताए । झट्ट हेर्दा उनी मधेशी मुलका देखिने उनको बोलीको लवज पनि मधेशी नै रहेको छ । धेरैलाई पहाडिया मूलका हुन् भन्ने विस्वास नै लाग्दैन । निरन्तर मःमः व्यवसायमा लागेका उनीबाट मिहिनेत र लगनशिलताका का साथ निरन्तर काम गरे बिना जोखिम, थोरैे लगानीमै स्वदेशै मै बसेर लाखौं कमाउन सकिन्छ भन्ने सिक्न आवश्यक रहेको छ ।