ताजा अपडेट »

जिम्मेवारीबाट पन्छिदै माछापुच्छ्रे बैंक, खुल्ला घुम्दै पिडक

आइतबार, ३० असोज २०७९


भैरहवा । माछापुच्छ्रे बैंकको आधिकारीक संस्थाले गरेको ठगिबाट एजेण्टलाई सम्पूर्ण दोषारोपण गर्दै बैंक पन्छिन खोजेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ रोईनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग केन्द्रले गरेको करोडौंको घोटाला बारे बैंकले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण दोष कर्मचारी र एजेण्ट माथि थोपारेको छ ।

माछापुच्छ्रे बैंकको रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा व्यवस्थापनले सम्बद्ध प्रतिनिधिलाई दोषी रहेको जनाएको छ । बैंकले दोषीविरुद्ध कारवाही अघि बढाइएको उल्लेख गरेको छ । रकम हिनामिना घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ ।

रोईनिहवा सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम “रियल टाइम” मा जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई दिनुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरेको खुलेको बैंकले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।
ग्राहकलाई हस्तलिखित भौचर दिने र बैंकको अनलाइन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफैं राख्ने गरेको पाइएकाले उनीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिइसकेको बैंकले जनाएको छ ।

निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाइमासेको व्यवहोरा लिखितरुपमा नै स्वीकार गरिसकेकाले उनीहरुले स्वयं जिम्मेवार हुने पनि विज्ञप्तीमा उल्लेख छ ।

तर नेपाल राष्ट्र बैंकले बैंकको आधिकारीक भौचर प्रयोग भएको भए यसमा बैंकको पनि उत्तिकै जिम्मेवारी रहने जनाएको छ । नेपाल राष्ट्र बैंक भैरहवाका प्रमुख रन्जना पण्डित (पौडेल) ले नक्कली बैंक भौचर भए बैंक दोषी नदेखिने तर बैंकको आधिकारीक भौचर प्रयोग भएको अवश्थामा यस प्रति बैंक नै जवाफदेही हुनु पर्ने बताईन । “ग्राहकसंग हुने भनेको भौचर नै हो, उसले त्यसैको आधारमा भुक्तानी माग्ने हो ।” पौडेलले भनिन् “ यसबाट बैंक पन्छिन मिल्दैन ।”

माछापुच्छ्रे बैंकका केन्द्रिय प्रवक्ता सुनिल खतिवडाले शाखारहित बैंकिङ्ग केन्द्रमा बैंकको भौचर नै प्रयोग नहुने बताउछन् । “यस्तो केन्द्रमा हामीले एक बिशेष प्रकारको डिभाईस उपलब्ध गराएका हुन्छौं ।” उनले भने “ग्राहकले त्यहि रकम दिएर दायाँ बाँया सहिछाप गरे पछि भौचर प्रिन्ट हुन्छ र ग्राहकलाई सोही भौचर प्रदान गरिन्छ ।” उनले मर्चवारको घटनामा बैंकको भौचर अनाधिकृत रुपमा प्रयोग गरिएको पाईएको बताए । उनले यस बारे जिल्ला प्रहरी कार्यालयमा दर्ता नम्बर १०४३ भएको असार ६ गते उजुरी दिएको समेत जनाएका छन् ।

तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामु अर्यालले माछापुच्छ«े बैंकले उजुरी नदिई जानकारीको पत्र मात्र दिएको र यसैको आधारमा कसैलाई कार्यवाही गर्न नसक्ने जनाएका छन् । ‘बैंकले असार ६ गते बैंकले सेवाग्राही तारामति चमारले ३५ हजार र सरिता कुमारीले १ लाख ३० हजार आफ्नो खातामा जम्मा नभई हिनामिना भएको जानकारी आएको थियो ।’ अर्यालले भने ‘कार्यालयमै उहाहरुले रकम १ साता भित्रै तिर्ने प्रतिवद्धता समेत गर्नु भएको थियो । त्यसपछि त्यसबारे कुनै जानकारी आएन ।’

उनले यसै जानकारीको आधारमै कुनै कार्यवाही वा अनुसन्धान गर्न नमिल्ने र अनुसन्धानको लागि छुटै निवेदन दिनु दिई बैंकको पनि सहकार्य आवश्यक रहेको औल्याए ।

प्रहरी र बैंकले कारवाहीमा देखाएको उदासिनताका कारण करोडौं ठगि गरेको भनिएका एजेन्ट निरन्जन पाठक र ब्यवस्थापक निस्फिक्रि घुमिरहेका छन् । ठगि गरेको र सबै रकम तिर्नेछौं भनेकै भरमा बैंक र प्रहरीले कार्यवाही नगरेको कारण सेवाग्रहीहरु थप पिडित र त्रसित बनेका छन् ।

यता उक्त घटनामा बैंकले संलग्न रहेको भनेको एजेन्ट निरन्जन पाठकले पत्रकारहरुले राजनैतिक प्रतिशोधको लागि समाचार लेखेको आरोप लगाएका छन् । पाठकले शनिबार राती आफ्नो फेसबुकमा स्टाटस लेख्दै सबै दोष बैंकका कर्मचारी सिकन्दर ठाकुरलाई दिएका छन् । सिकन्दरले नै सबै रकम तिर्नुपर्ने र उसले तिरिरहेको अवश्थामा समेत राजनीतिक ईसारामा हावादारी रुपमा समाचार आएको आरोप लगाएका छन् ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा शाखा रहित बैंकिङ्ग सुविधा प्र्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले सयौं निक्षेप कर्ताको रकम हिनामिना गरेको छ । रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरि करौडौंको ठगि गरेको समाचार यसअघि ग्लोबल आवाजमा प्रकाशित भएको थियो ।