ताजा अपडेट »

४० हजारभन्दा बढीमा डेंगु पुष्टि, ४८ जनाको मृत्यु

आइतबार, ३० असोज २०७९

काठमाडौं। नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।

इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ४० हजार २९ जनामा डेंगु पुष्टि भइसकेको छ ।इडिसीडीअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३१ हजार पाँच, लुम्बिनी प्रदेशमा चार हजार ३७०, प्रदेश १ मा एक हजार २४८, सुदूरपश्चिममा एक हजार ९८, गण्डकी प्रदेशमा एक हजार ४९ कर्णाली प्रदेशमा ६३८ र मधेश प्रदेशबाट ६२१ जनामा डेंगु पुष्टि भएको छ ।

१० जिल्लामा सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौंमा १२ हजार २५२, ललितपुरमा आठ हजार ७१४, मकवानपुरमा चार हजार ५०, भक्तपुरमा दुई हजार ७३०, दाङमा दुई हजार पाँच, चितवनमा एक हजार ४६०, रुपन्देहीमा एक हजार १७५, धादिङमा ६८३, सुर्खेतमा ४६८ र सुर्खेतमा ४५९ गरी ३३ हजार ९९६ जनामा डेंगु पुष्टि भएको छ ।

डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गए पनि तराईका जिल्लामा भने प्रकोप बढ्न सक्ने डा. दाहाल बताए । उनका अनुसार जाडो बढ्न सुरु भएसँगै काठमाडौंलगायत पहाडी भेगमा डेंगु सङ्क्रमण कम हुँदै जाने र बिस्तारै तराईका जिल्लामा सङ्क्रमण बढ्न सक्छ ।

उनी भन्छन् ''डेंगु सार्ने लामखुट्टे धेरै गर्मीमा बाँच्दैनन्, त्यसैले गर्मीमा तराईमा यसको प्रकोप तुलनात्मक रुपमा कम देखिएको हो अब तराईमा गर्मी कम हुँदै जाने र छिमेकी देश भारतमा डेंगुका बिरामी बढ्दै गएकाले डेंगु सङ्क्रमण तराईतिर बढ्ने सम्भावना बढी छ ।