बुटवल । यसक्षेत्रको स्थापित मेचीकाली तिनाउ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । यसअघि तीनवटा सहकारी मर्ज भएर गत वर्ष सहकारीको प्रारम्भिक साधारणसभामा गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाको वडा नं. ६ स्थित ज्ञवाली कम्प्लेक्समा मुख्य कार्यालय रहेको र सहकारी ऐन अन्तर्गत दर्ता भई जिल्लाभर कार्यक्षेत्र रहेको यो सहकारी यसक्षेत्रको उत्कृष्ट सहकारी मानिन्छ ।
सहकारीको दोस्रो साधारणसभाको उद्घाटन गर्दै यसक्षेत्रका स्थापित उद्यमी तथा संस्थाका पूर्वअध्यक्ष मेघराज भण्डारीले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्ने र त्यसका माध्यमबाट समृद्धिमा योगदान गर्नुपर्नेमा जोड दिए ।
मेचीकाली तिनाउ सहकारीको अहिलेसम्मको लगानी र क्षेत्र उत्पादनमूलक क्षेत्रमा रहेको पाइएको र आर्थिक, समाजिक क्षेत्रमा सहकारी केन्द्रित रहेको भन्दै प्रशंसा गरे । उनले लगानीका क्षेत्रको विस्तार गर्दै हरेक सदस्यहरुलाई उद्यमका क्षेत्रमा जोड्न जरुरी रहेको भन्दै लगानी अनुरुपको उच्च प्रतिफल हासिल गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
सहकारीका अध्यक्ष डिल्लीराज भण्डारीले सहकारीको सिद्दान्त अनुरुप अझ सशक्त र प्रभावकारी बनाउँदै अगाडि बढेको उल्लेख गरे । उनले वित्तीय क्षेत्रको प्रतिस्पर्धा, लगानीका क्षेत्र, सदस्यहरुको वितृविकास, आधुनिक वित्तीय प्रणालीको समेत अबलम्बन गर्दै यसक्षेत्रमै उत्कृष्ट सहकारी बनाउने लक्ष्यका साथ नीति कार्यक्रम र योजना बनाइएको बताए।
अध्यक्ष भण्डारीले पेश गरेको आगामी कार्ययोजना, विगतका प्रगति प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ । डिजिटल बैकिङ, सहज सेवा सुविधा, आकर्षक ब्याजदर। धितोको सहज एवम् वैज्ञानिक मूल्यांकन, सदस्यहरुमा वित्तीय साक्षरतालगायतका नयाँ कार्यक्रम समावेश गरेर योजना बनाइएको अध्यक्ष भण्डारीले बताए ।
सहकारीले हालसम्म २८ करोड ९ लाख ७६ हजार ९ सय ९७ रुपैयाँ बराबरको कारोबार गरेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा छ । साधारणसभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक मोहन न्यौपानेले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भेषराज पाण्डेले आर्थिक प्रतिवेदन प्र्रस्तुत गरेका थिए ।
साधारसभामा सहकारीका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार बालाराम भट्टराई, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि सीता खनाल, सामुदायिक सहकारीका अध्यक्ष खेम लुइँटेल, सहकारीका सल्लाहकार टंकप्रसाद शर्मा, बञ्जाडे, यमलाल पौडेल र सेयर सदस्यका तर्फबाट यमलाल भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
विभिन्न व्यक्तित्वलाई सम्मान
यसैगरी सहकारीले साधारणसभाका अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । यस्तै सेयर सदस्यका छोराछोरीहरुमध्येबाट एसइइमा उत्कृष्ट अंक ल्याउने, ज्येष्ठ सेयर सदस्य, उत्कृष्ट लगानीकर्ता, बचतकर्ता, पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । विद्यार्थी विलक्षण भुसाललाई एसइइमा जिपीए ४ ल्याएको भन्दै सम्मान गरिएको थियो भने ज्येष्ठ सदस्य तथा ८६ वर्षीय पूर्णप्रसाद पौडेललाई सम्मान गरिएको सहकारीका व्यवस्थापक बादल आचार्यले जानकारी दिए ।
यसैगरी उत्कृष्ट लगानीकर्ता तथा ऋणीमा धितोतर्फ राममणी पाण्डे र धन जमानीतर्फ सुशिला पन्थलाईसम्मान गरिएको थियो । डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सोमनाथ पाठकले स्वागत, सचिव गीता गौतम ज्ञवालीले सञ्चालन र कोषाध्यक्षमा भेषराज पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया