भैरहवा । रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की बिन्द्रावती लोध घर छेउमै बैंक खुल्दा खुशी भएकी थिइन् । बैंकमा रकम जम्मा गर्न मर्चवारको मझगावा या भैरहवा नै पुग्नु पर्ने उनको बाध्यतालाई घर नजिकै खुलेको माछापुच्छ्रे बैंकले हटाएको थियो । घर नजिकै बैंक पाएकी लोध छोरीको बिवाहको तैयारीको लागि भन्दै आफ्नो पेट काटेर बैंकमा रकम जम्मा गर्न थालिन ।
करिब ४ लाख रुपैया जम्मा गरेकी बिन्द्रावती आफ्नो छोरी रीमा लोधको प्रसुतिको लागि बैंकबाट रकम झिक्न जाँदा बैंकमा रकम नै रहेको भने पछि मात्र माछापुच्छ्रे बैंकको बदमाशी थाहा पाइन् । रकमकै अभावले उनले नातिनि गुमाउनु पर्याे । बैंकल रकम नदिए पछि उनको नातिनी निमोनियाको कारण ज्यान गुमाईन । त्यो भन्दा बढी चिन्ता उनलाई अब अर्को छोरीको बिहेको रहेको छ । छोरीको बिहेको लागि भन्दै जम्मा गरेको रकम नै अहिले हिनामिना भएको छ ।
सोही स्थानकी वृद्धा नैनमति लोध उमेर छँदै भविष्यमा काम लाग्ने भन्दै सोही बैंकमा रकम जम्मा गरिरहेकी थिईन । अहिले उनको खुट्टा भाचिएको छ । भाचिएको खुट्टाको उपचार गर्न नैनमति बैंक धाउदा धाउदा हैरान भएकी छिन् तर उनले पनि रकम पाउन सकिरहेकी छैनन् ।
रोईनिहवाकै चिग्गु लोधले पनि छोराले बिदेशबाट पठाएको रकम घर नजिकैको माछापुच्छ्रे बैंकमा जम्मा गरिरहेका थिए । पेट काटेर जोगाएको रकम लाखौंमा पुगिसकेको थियो । तर अहिले १ रुपैया पनि खातामा जम्मा नभएको जानकारी उनलाई आएको छ ।
यी त प्रतिनिधिमूलक घटना मात्र हुन । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा शाखा रहित बैंकिङ्ग सुविधा प्र्रदान गर्दै आएको माछापुच्छ«े बैंकले यस्ता सयौं निक्षेप कर्ताको रकम हिनामिना गरेको खुलेको छ । रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बंैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरेको पाइएको छ ।
रुपन्देहीको पनि दुर्गम क्षेत्रको रुपमा रहेको मर्चवारमा राष्ट्रबैंकको निति अनुसार माछापुच्छ«े बैंकले शाखा रहित बैंकिङ्ग कारोबारको लागि कार्यालय खोलेको थियो । गत स्थानिय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहि दोश्रो भएको स्थानिय निरन्जन पाठकले एजेन्ट भई बैंक संग सम्झौता गरेर उक्त बैंक सञ्चालन गरेका थिए । कारोबार ब्यवस्थापनको लागि भन्दै सोही गाउँकै सिकन्दर ठाकुरलाई ब्यवस्थापक पनि बनाईएको थियो ।
उनै ठाकुरले अहिले सयौ सेवाग्राहीहरुको करौडौं रकम ठगि गरेका छन् । बैंकमा रकम जम्मा गर्न आउनेहरुको रकम अनलाईन कारोबार नगरि अफलाईन कारोबार गरेको उनको भनाई छ ।
ठाकुरले हाँकाहाँकी गल्ती गरेको बताइरहेका छन् । उनले यसको लागि आफुले नक्कली छाप बनाएको र कुनै भौचरमा बैंकको आधिकारीक छाप र कु्नैमा सोही नक्कली छाप लगाउने गरेको बताए । कुल गरेर करिब डेढ करोड रुपैयाको कारोबार फरक परेको र यो रकम आफुले घर जग्गा बेचेर तिर्ने उनको भनाई छ ।
यस्तै बैंकसंग सम्झौता गरि एजेन्ट बसेका निरन्जन पाठकले पनि कर्मचारीले गल्ती गरेको बताउछन् । उनले सबै गल्ती कर्मचारीको भएको र यसबारे आफुलाई केही थाहा नभएको बताए ।
तर स्थानियहरु उनको यो भनाई मान्न तैयार छैनन् । एकल कर्मचारीले मात्र करौडौं रकम हिनामिना गर्ने साहस गर्नै नसक्ने निक्षेपकर्ताहरुको भनाई छ । यसमा पाठक समेतको मिलमतोमा करौडौ रुपैया ठगि भएको निक्षेपकर्ताहरुको आरोप रहेको छ ।
ठगि गर्नेहरुलाई कार्यवाही हुनु पर्नेमा उल्टै उनीहरु गाउँमा खुलेआम घुमिरहेका छन् र रकम भए पछि मात्र निक्षेपकर्तालाई फिर्ता दिईने बताईरहेका छन् । उहाँहरुलाई कारवाहीको लागि न स्थानीय प्रशासनले तदारुकता देखाएको छ न बैंकले नै ।
यसबारे उजुरी दिन बैंक पुगेका निक्षेपकर्ताहरुलाई बैंकले उल्टै हकारेर पठाएको छ । हिनामिना भएको ठहर गर्दै अहिले माछापुच्छ«े बैंकले सो काउण्टर समेत बन्द गरेको छ । तर निक्षेपकर्ताको रकम फिर्ता हुने नहुने बिषयमा बैंकले जवाफ दिन मानिरहेको छैन ।
नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख रन्जना पण्डित (पौडेल)ले सेवाग्रही संग बैधानिक बैंक भौचर भए त्यस अनुसारको रकम बैंकले तिर्नै पर्ने बताउँछिन । यद्दपी आफुले पनि बाहिरबाट नै यो घटनाबारे थाहा पाएको र आधिकारीक जानकारी आइनसकेको बताउँदै उनले उजुरी आए राष्ट्र बैंकले कार्यवाही प्रक्रिया अगाडी बढाउने बताईन ।
क बर्गमा सुचिकृत माछापुच्छ्रे बैंकको यो बदमाशीको कारण अहिले सैकडौं सेवाग्राही न घर न घाटको अवश्थामा पुगेका छन् । आफुले रकम जम्मा गरेको भौचर सहित कहिले बैंकको शाखा कार्यालयहरु त कहिले एजेन्ट पाठक एवम ब्यवस्थापक ठाकुरको घरमा भौतारिरहेका छन । आफ्नो पेट काटेर जम्मा गरेको रकम फिर्ता पाउने बिषयमा पहल गरिदिन समेत उनिहरुले गुहार मागेका छन् ।
प्रतिक्रिया