बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन् । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा विभिन्न कमिटीमा रहेका नेताहरु रहेका छन् ।
अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गर्नुको साथैं नेता/कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । भेलाले पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरे तथा प्रदेशसभाका उम्मेदवारद्वय भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताउन सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ जाने निणर्य पनि गरेको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीका उम्मेदवारलाई जिताउन आ-आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उम्मेदवारी चयनका सन्दर्भमा देखापरेको समस्याको उचित समयमा समीक्षा हुने स्पष्ट पारे ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेको तर्लबाट रुपन्देही ५ मा २ जनाको उम्मेदवारी परेपछि निर्वाचन आयोगले घिमिरेको मनोनयनलाई सदर गरेको थियो ।
प्रतिक्रिया