ताजा अपडेट »

उम्मेदवारी फिर्ता गर्न माओवादी नेता महरादेखि लुम्बिनीका मुख्यमन्त्रीसम्मको दबाब

बुधबार, २६ असोज २०७९

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी फिर्ता लिन हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई दबाव दिएका छन् । दाङ-१ (क) बाट हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवार बनेका टंक बहादुर बिष्टलाई मुख्यमन्त्री केसीले उम्मेदवारी फिर्ता लिन दबाव दिएका हुन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूलाई घरबाट गाउँपालिकाको कार्यालय लगेर मुख्यमन्त्री केसीसँग भेट गराएको र भेटमा मुख्यमन्त्रीले उम्मेदवारी फिर्ता नलिए नराम्रो हुने धम्की दिएको विष्टले बताए । माओवादी केन्द्रका नेताहरुले उम्मेदवारी फिर्ता लिन दबाव दिइरहेको बताउँदै उनले सोही कारण मोबइल फोन नै अफ गरेर बस्नुपरेको उल्लेख गरे । ‘पूर्व सभामुख कृष्णबहादुर महराले घरमै आएर उम्मेदवारी फिर्ता लिन दबाव दिँदा मैले मलाई नै सहयोग गर्न आग्रह गरेको थिएँ, अहिले फेरि नराम्रो हुने भन्दै दबाव आइरहेको छ ।’-उनले भने । विष्टले मुख्यमन्त्री केसीलाई आफू जनताको बीचमा गइसकेकाले उम्मेदवारी फिर्ता गर्न नसक्ने जानकारी गराएको बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने दबाब दिएको कुरालाई अस्विकार गरेका छन् । ग्लोबल आवाजसँग कुरा गर्दै उनले भने–‘आज विहान रात वितरण लगायत कामका लागि जाने क्रममा उहाको घरहुँदै गाउँपालिका आउने क्रममा मुख्यमन्त्रीलाई भेट्न भन्दै आफै मेरो गाडीमा आउनु भएको हो । उहाले मुख्यमन्त्रीलाई पनि भेटेको कुरा सत्य हो । तर, दबाब दिएको कुरा सत्य होइन ।’ आफूहरू दाजुभाइ रहेको बताउँदै प्रकाशले गाउँपालिका कार्यालयमा सँगै जाँदा उम्मेदवारी फिर्ताका बारेमा कुरा नगरेको दाबी गरे । बरु मुख्यमन्त्री र आफूले उम्मेदवार भएकोमा शुभकामना व्यक्त गरेको उल्लेख गरे । ‘विगतमा एउटै पार्टीमा रहेर काम गरेका कारण मुख्यमन्त्रीले पनि उहालाई शुभकामना दिनुभएको थियो । अन्यथा कुरा भएको छैन उनले भने ।’