गुल्मी । नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख बाट फर्सुराम पाण्डेको उम्मेद्वारी रहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उनले आइतबार उम्मेद्वारी मनोयनन दर्ता गरेका हुन् ।
गुल्मेली जनताका माझ भिजेका पाण्डे लामो समयदेखि राजीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन् । सोही आधारमा नै उनलाई पार्टीले टिकट दिएको हो ।
वि.सं. २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरि अभानेस्ववियुको दिल्ली नगर कमिटिको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरु गरेका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर भूमिका निर्वाह गर्दै आएका छन् ।
२०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गरेका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्छन् ।
गुल्मी–काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका कुशलतापूर्वक सम्पन्न गरेका पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रिय सम्पर्क समन्वय कमिटिको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीबीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय महासचिव हुन् ।
विगत २५ वर्षदेखि उद्यमशीलता विकास र स्वरोजगार बन्ने प्रेरणा दिने अभियानमा लागेका पाण्डेसंग स्थानीय श्रोत साधनलाई प्रयोग गरि सयौं उद्योग स्थापना र संचालन गरेको अनुभव समेत छ ।
लायन्स क्लव गुल्मीको अध्यक्ष भैसकेका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर काम गर्दै आएको र प्रदेश सांसदका रुपमा जनप्रतिनिधि भएर समग्र क्षेत्रमा सेवा र काम गर्ने उद्देश्यले उम्मेद्वारी दिएको उनले जनाए ।
उता प्रतिनिधिसभातर्फ भने क्षेत्र नं. १ बाट एमाले उपमहासचिव प्रदीप ज्ञावाली रहेका छन् भने उनीविरुद्ध कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको उम्मेद्वारी रहेको छ ।
प्रतिक्रिया