ताजा अपडेट »

तिलोत्तमालाई बालमैत्री बनाउने प्रतिबद्धता

शनिबार, २८ मंसिर २०७६

मंसिर २८,

ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले हस्ताक्षर गरेका हुन् । सहभागीहरुले बालअधिकार सुनिश्चितताको लागि बालबालिकालाई केन्द्रमा राखी कार्य गर्ने सहमति जनाएका हुन् ।

शनिबार सम्पन्न अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, विभिन्न संघ–संस्था, सेवाप्रदायक कार्यालय, बाल क्लवका प्रतिनिधि लगायत सरोकारवालाहरुले प्रतिबद्धताप त्रमा हस्ताक्षर गरेका थिए । अभिमुखी कार्यक्रमबाट बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति–२०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ र घोषणा कार्यविधि–२०७० बमोजिमका सूचक तथा मापदण्ड पूरा गर्न कार्ययोजना निर्माण गरिएको छ । कार्ययोजनामा सूचक तथा मापदण्ड पूरा गर्न विद्यालय, समुदाय, वडा, नगर तहबाट गरिने कार्यविवरणमा उल्लेख छ ।

कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमामा बालमैत्री स्थानीय शासनका अधिकांश न्यूनतम सेवा सूचकहरु पूरा भैसकेका र बाँकी सूचकहरु पूरा गरी तोकिएकै समयमा बालमैत्री नगरपालिका घोषणा गरिने बताउँदै यसका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न नगरबासीलाई आग्रह गरे ।

बालमैत्री स्थानीय शासन; बालअधिकार सम्बन्धी समग्र पक्ष (बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता) को प्रवद्र्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो । यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ । नेपालमा स्थानीय तहको पुनःसंरचनापछि चार वटा स्थानीय तह बालमैत्री स्थानीय तह घोषणा भएका छन् । वडागत हिसाबले ३० वटा वडाहरु बालमैत्री घोषणा भएको प्रशिक्षक शर्मिला पौडेलले जानकारी दिईन् ।