ताजा अपडेट »

लुम्बिनी प्रदेशमा जसपाको बहालवाला मन्त्रीसहित २९ जना उम्मेदवार

सोमबार, २४ असोज २०७९

बुटवल । जनता समाजवादी पार्टी, नेपालले यहि मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा बहालवाला मन्त्रीसहित २९ जनाको उम्मेदवारी दर्ता गरेको छ । पार्टीका तर्फबाट संघीय सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाँकेको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्।

सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले तराई मधेशका १४ जिल्लाहरुमा चुनावी तालमेल गरेको छ । जस अन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरी बाँकी जिल्लाहरुमा एकल उम्मेदवारी दिएको जसपाले प्रदेशका ९ जिल्लाहरुमा उम्मेदवारी दर्ता गराएको छ । जसपाको तर्फबाट बर्दिया क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि रेशम बहादुर खत्रीले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभातर्फ १(१) मा दिलीप बर्मा र १ (२)मा कृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभातर्फ २(१) मा शान्ता पौडेल र २(२) मा मोहम्मद नसिब खानले उम्मेदवारी दिएका छन् ।

बाँके जिल्लाअन्तर्गत क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ राम बहादुर यादव तथा प्रदेशसभा तर्फ १ (१) मा अम्मर बहादुर खड्का र १ (२) मा लाल बहादुर शाह उम्मेदवार बनेका छन् । त्यसैगरी क्षेत्र नं. २ मा भौतिक पूर्वाधार विकास मन्त्री तथा जसपा लुम्बिनी प्रदेशका इन्चार्ज मोहम्मद इस्तियाक राई प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ २ (१) मा अदेश अग्रवाल र २(२) मा भण्डारीलाल यादवले उम्मेदवारी दिएका छन् । बाँके जिल्लाकै क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि नोयन्द्र धिताल उम्मेदवार बनेका छन् भने प्रदेशसभा तर्फ ३ ( १) मा गयासुद्दीन खान र ३ (२) मा विजय कुमार पाठकले उम्मेदवारी दिएका छन् ।

दाङ जिल्लाको क्षेत्र नं. १ को प्रदेशसभातर्फ १(१) मा जगतराम यादव उम्मेदवार बनेका छन् भने क्षेत्र नं. ३ को प्रतिनिसिभातर्फ देवीलाल डाँगी उम्मेदवार बनेका छन् । जसपाले अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेत्र थापालाई उम्मेदवार बनाएको छ भने प्रदेशसभातर्फ टुक बहादुर तेवालीलाई उम्मेदवार बनाएकोछ । त्यस्तै गुल्मी जिल्लाको प्रदेशसभातर्फ घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । पार्टीका तर्फबाट पाल्पा जिल्ला क्षेत्र नं. १ मा मेहरमान राना प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि द्रुपता सोमै उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ २ (१) मा खिक बहादुर रेश्मी उम्मेदवार बनेका छन् ।

नेकपा एमालेसँग चुनावी तालमेलमा रहेका तीन जिल्लाहरुतर्फ भने जसपाले नवलपरासी जिल्लाको क्षेत्र नं. २ को प्रदेशसभा २ (२) मा धरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही जिल्लामा तीन सिट पाएका जसपाले क्षेत्र नं. ३ को प्रदेशसभातर्फ ३ (१) मा मेहन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधिसभातर्फ ओम प्रकाश यादव गुल्जारी उम्मेदवार बनेका छन् भने ४ कै प्रदेशसभातर्फ ४ (२) का लागि राम अवतार यादव उम्मेदवार बनेका छन् । त्यसैगरी कपिलवस्तु जिल्लामा प्रदेशसभातर्फ तीन जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. १ को प्रदेशसभातर्फ  १ (२) मा मेवालाल यादव, २ (२) मा अब्दुल रसिद खान र ३ (२) मा अशोक कुमार यादवले उम्मेदवारी दिएका छन् । अहिले चुनावी तालमेल एवं गठबन्धनको सकस र पार्टी संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थाको बाबजुद जसपाले लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गराउन सफल भएको पार्टीका राजनीतिक समिति एवं केन्द्रीय निर्वाचन तयारी समितिका सदस्य मनिकर कार्कीले बताए ।