ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री केसीलाई पत्याएन आफ्नै पार्टीले

सोमबार, २४ असोज २०७९

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पार्टीले टिकट नदिएपछि ५ वर्षका लागि उनको संसदीय यात्रा रोकिएको छ । नेकपा बिभाजनका बेला रामबहादुर थापा बादलको पछाडी लागेर एमालेमा बस्न लागेका केसीलाई मुख्यमन्त्री दिने प्रलोभनमा नेकपा माओवादी केन्द्रमा फर्काएका अध्यक्ष प्रचण्डले यसपटक भने टिकट दिएनन् ।

निरन्तर आर्थिक बिवादमा तानिदै आएका कारण पार्टी नेतृत्व असन्तुष्ट भएकाले टिकट पाउन नसकेको माओवादी नेताहरूको भनाई छ । केसी यसअघि २०७४ सालको निर्वाचनमा रोल्पाको प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए । पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशको सह इन्चार्जसमेत रहेका मुख्यमन्त्री केसीका पछिल्ला अधिकांश निर्णयप्रति पार्टीका अधिकांश नेताहरू असन्तुष्ट रहेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले उनको ठाउँमा मुख्यमन्त्री बनाउने गरी सचिवालयमा काम गरेका जोखबहादुर महरालाई अगाडि सारेका छन् । केसीको दाबेदारी गरेको रोल्पाको ख बाट महराले उम्मेदवारी दर्ता गरेका छन् । रोल्पाबाट टिकट नपाउने संकेत पाएपछि दाङ सर्न खोजेका केसीलाई उनकै मन्त्रिपरिषदका सदस्य इन्द्रजित चौधरीले नछाडेपछि केसी टिकट विहिन भएका हुन् । उनले श्रीमतीलाई भने समानुपातिक सूचीमा राख्न सफल भएका छन् ।