ताजा अपडेट »

रोल्पामा काँग्रेसलाई टिकट दिएको भन्दै माओवादी नेताको स्वतन्त्र उम्मेदवारी

आइतबार, २३ असोज २०७९

बुटवल । नेकपा माओवादी केन्द्रको आधार ईलाका मानिँदै आएको रोल्पामा प्रदेशसभाका लागि नेपाली काँग्रेसलाई एक सिट दिने केन्द्रको सहमतीलाई माओवादी नेताले अवज्ञा गरेका छन् । जिल्लामा गठबन्धन भित्रको खटपट शीर्ष नेताहरूको दबाबमा मिलेको भनिए पनि उम्मेदवारी दर्ताका क्रममा मिल्न सकेन ।

रोल्पाको प्रतिनिधिसभा तथा दुवै प्रदेश सभामा कांग्रेसलाई दिन नखोजेको माओवादीले केन्द्रका नेताको दबाब थेग्न नसकेपछि बैठकमा बसेका नेताले तत्काल सहमति जनाए पनि अन्य नेताहरूले त्यो सहमति तोडेका छन् । गठबन्धनको सहमति अनुसार रोल्पा प्रदेश सभा (ख) नेपाली कांग्रेसले पाएर कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । तर सोही क्षेत्रबाट माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्र कुमार पुन सिंजलले माओवादी नै परित्याग गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

नेता पुनले स्थानीय तह निर्वाचनमा माओवादी हराउन एमालेसँग तालमेल गर्ने कांग्रेसका नेता जिताउनका लागि आफ्नो बलियो क्षेत्र छोड्न नसकिने जनाउँदै उम्मेदवारी दिएको जनाएका छन् । रोल्पाबाट संघमा माओवादी नेता वर्षामान पुन र प्रदेश सभा क मा जोखबहादुर महराले उम्मेदवारी दिएका छन् । माओवादीको यो रणनीति बुझेर आइतबार बिहान एमालेसँग गठबन्धन गर्न तयार भएको नेपाली कांग्रेसलाई रोक्न माओवादीले सहमति जनाएको थियो तर त्यो दिनभर पनि टिक्न सकेन ।