बुटवल । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ बाट दुई जनाको उम्मेदवारी परेपछि आधिकारीक उम्मेदवार बारे निर्वाचन आयोगनै अन्यौलमा छ । अन्तिम नामावलीको सूचना प्रकाशन अघि आवश्यक छानविन गरी त्यसको टुङ्गो लाग्ने बताइएको छ ।
नेकपा एमालेको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका नेता खिमलाल भट्टराई र बासुदेव घिमिरे २ जनाको नै कागजात अध्ययनपछि भन्न सकिने निर्वाचन अधिकृत चिन्तामणी शर्माले बताए । संक्षिप्त प्रतिक्रिया जनाउँदै निर्वाचन अधिकृत शर्माले आधिकारिक उम्मेदवार भएको सूचना पर्सी असोज २६ गते सूचना प्रकाशन गरिने उल्लेख गरे । ‘आधिकारीक व्यक्ति को हो भन्ने विषयमा सम्पूर्ण प्रमाणहरु तथा कानून हेरेर मात्रै पार्टीको आधिकारीक उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ ।’–उनले भने । उम्मेदवारी दर्ता गर्दा संलग्न कागजात तथा कानूनी मान्यता बारे भोलिदेखि अध्ययन सुरु हुने उनले बताए ।
नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेलाई प्रतिनिधिसभाका लागि रुपन्देही ५ बाट अघि सारे पनि निर्णय परिवर्तन गर्दै राष्ट्रिय सभा सदस्य रहेका खिमलाल भट्टराईलाई टिकट दिने निर्णय गरेको थियो । त्यस क्षेत्रमा आम कार्यकर्ता तथा नेताहरुको दबाबका बीच भट्टराईलाई टिकट दिने अपेक्षा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेको बताइएको छ ।
अध्यक्ष ओलीलेनै दिएको टिकट लिएर निर्वाचन आयोगको कार्यालयमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए भने राष्ट्रियसभा सदस्य पदबाट राजिनामा दिएर नेता भट्टराई आइतबार नै काठमाण्डौंदेखि रुपन्देही आएर अन्तिममा उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । भट्टराईले उम्मेदवारी दर्ता गराउँदा ठूलो संख्यामा दलबलसहितको उपस्थिती रहेको थियो ।
आइतबार दिउसो नै उम्मेदवारी दर्ता गराएका नेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफू आधिकारिक उम्मेदवार भएको र मतदान गरेर विजयी गराउन अपील गरेका छन् ।
प्रतिक्रिया