ताजा अपडेट »

रोल्पामा गठबन्धन दल बीच कुरो मिलेन, काँग्रेस-एमाले तालमेलको तयारी

आइतबार, २३ असोज २०७९

बुटवल । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बीच कुरो नमिलेपछि रोल्पामा गठबन्धनमा खटपट सुरु भएको छ । माओवादीले सहमति नमान्ने अवस्था आएपछि कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गर्ने तयारी गरेको छ । उम्मेदारी दिने अन्तिम दिनसम्म पनि माओवादीले सहमति पालना गर्ने विषयमा सकारात्मक नभएपछि यस्तो अवस्था आएको रोल्पाका कांग्रेस नेताले बताए ।

यहाँबाट संघमा माओवादी तथा प्रदेशमा कांग्रेस माओवादीले एक एक सीट पाउने सहमति भएको थियो । माओवादीले संघमा वर्षमान पुनलाई अगाडि सारेको छ । नेपाली कांग्रेसबाट संघमा दावेदारी गरेका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका कारण प्रदेशमा बस्ने तयारी गरेका थिए तर उनकै क्षेत्रमा माओवादीले प्रदेशको समेत दावी गरेपछि विवाद बढेको हो ।

आइतबार बिहानसम्म पनि माओवादी कुनै तरिकाले लचिलो हुन चाहेन, अनि हामीले एमालेसँगको तालमेलका लागि छलफल गरेका हौं, सम्भव त रोल्पामा एमालेसँग तालमेल हुनेछ– रोल्पाका कांग्रेस नेताले भने । एमाले सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले यो विषयमा छलफल भएपछि निचोडमा नपुगिएको बताए ।