भैरहवा । हरिश सेठिया भैरहवाका प्रतिष्ठित ब्यवसायी हुन् । भैरहवाको मुटु बैंकरोडमा उनको पसल रहेको छ । प्रायः पसलमा र अन्य सामाजिक काममा ब्यस्त रहने सेठिया समय पाउने बित्तिकै घुमघाम गर्न रुचाउने ब्यक्ति हुन् ।
यस पटकको दशैंमा पनि उनले परिवार सहित मुस्ताङ्ग जिल्लाको विभिन्न धार्मिक स्थलसंगै मुक्तिनाथ मन्दिरको दर्शन गर्ने योजना बनाए । परिवारसहित अष्टमीको दिन मुक्तिनाथ हिँडेका सेठिया परिवार अहिलेसम्म भैरहवा फर्किन सकेको छैन । दाजु, भाउजु, आमा, बालबालिका, चालक सहित १० जनाको सेठिया परिवार मुक्तिनाथ दर्शन गर्न गएका हुन् । आन्तरिक पर्यटनलाई समेत टेवा पुगने उद्देश्यले उनले यसपटक नेपाललाई रोजेकोमा पछुतो मान्नु परेको छ ।
शनिबार ग्लोबल आवाजको सम्पर्कमा आएका सेठियाले नेपालको पर्यटन विकासमा यहाँको प्रशासनले सहयोग नगरेको गुनासो गरे । “५ दिन हाम्रो परिवार जस्तै सैकडौ परिवार यहाँ अल्पत्र रहेका छौं ।” उनले भने “उद्दारको लागि स्थानीय प्रशासनलाई पटक-पटक गरेको आग्रह खेर गएको छ ।”
नवमीको दिन मुक्तिनाथ दर्शन गरेर फर्किदा लेतेबाट पहिरो सुरु भएको उनको भनाई छ । पहिरोको कारण त्यहा २ दिन बसे पछि त्यहीका वडा सदस्य बिक्रम गौचनको सहयोगमा स्थानीय प्रशासनले त्यहा रोकिएका यात्रीहरुलाई निकालेको थियो । लेतेबाट उम्किएका सेठिया परिवार सहितको यात्रुहरु त्यहाबाट ३ किलोमिटर हिड्न नपाउदै खैरा भन्ने स्थानमा पुनः पहिरोले बाटो अवरुद्ध भयो । खैरा, रुप्से झरना लगायतको स्थान छिचोल्दै मुस्ताङ्गबाट फर्किरहेको टोली अहिले म्याग्दीको दाना भन्ने स्थानमा फेरी रोकिएका छन् ।
हिडेको ५ दिन पुग्दासम्म गन्तब्यमा पुग्न नसकेको कारण सेठिया परिवार जस्तै अहिले करिब ५ सय यात्रु सोही बाटोमा रोकिएका छन् । कतिपय बिदेशी पर्यटकहरुको हवाई उडान भएकोले पैदल नै पोखरातर्फ लागेको सेठियाको भनाइ छ । “यहाँ नेपाली मात्र हैन, अधिकांश भारतीय पर्यटक सहित अन्य मुलुकका पर्यटक पनि रहेका छौं ।” सेठियाले भने “५ दिन हुदा पनि बाटो खुल्ने संकेत नदेखेपछि कतिपय पर्यटक गाडीको माया मारेर पैदल नै अगाडी बढेका छन् ।”
उनको भनाईमा भारतीय पर्यटक बढी चिन्तित देखिएका छन् । निश्चित समयको लागि आफ्नो गाडीको परमिट बनाएर आएका भारतीयहरु समयमा निस्किन नपाउदा चिन्तित देखिएको उनले बताए ।
दानामा बाटो अवरुद्ध भएको बारे स्थानीय प्रशासनलाई जानकारी गराउदा प्रशासनले डोजर नभएको जवाफ दिएको उनले बताए । “हामीले पहिरोबारे जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रहरी चौकीमा सम्पर्क गर्न तोक्यो ।” उनले भने “ प्रहरी चौकीका सई साबले डोजर नभएको जवाफ दिनु भयो ।”
“बालबालिका सहित सयौ पर्यटक यहा रोकिएका छौं ।” ग्लोबल आवाजको सम्पर्कमा उनले भने “अझै कति दिन बस्नु पर्ने हो निश्चित छैन ।” यद्दपी उनले खान र बस्नको लागि त्यति दुख नभएको बताए । स्थानीयहरुले उनिहरुलाई सशुल्क खाने र बस्ने सुविधा उपलब्ध गराउदै आएका छन् ।
नेपालको आन्तरिक पर्यटनमा यस्ता बाधाहरुले नकारात्मक असर पुर्याउने सेठियाको भनाई छ । यस्तै अवश्था रहे नेपालमा भ्रमणको लागि बाह्य पर्यटक मात्र हैन आन्तरिक पर्यटकहरु पनि नआउने उनले गुनासो गरे ।
प्रतिक्रिया