गहभरि टलपल आँसु । विरक्त देखिन्छिन् आमा । दशैँको आगमनसँगै किनखुसी छैनन् उनी ? दशैँ धेरै आए, गए । समयचक्रसँगै प्रत्येक वर्ष दशैँ आइनै हाल्छ । साठी बढी दशैँ त स्वयम्ले अनुभव गरिन् । एक प्रकारको लयमा चाडहरु आउँदै,जाँदै गरेका हुन्छन् । त्यही चाडहरुको लहरमा दशैँ एउटा महत्व राख्ने चाड हो । अन्य चाडभन्दा अलिक भव्य किसिमले मनाउने परम्पराका कारण यो चाड आएसँगै थप रौनक देखिन्छ । विशेषगरी यस अवसरमा सबै जना भेटभाट गर्ने, दुःख सुःख साटासाट गर्ने गर्छन् ।
तर,०७९ को दशैँ आमालाई आएन । उनलाई यो उमेरमा आएर दशैँले खुसी दिन सकेन । जब असोज लाग्छ तब आमाका आँखा बाटो हेर्नतर्फ लाग्छन् । लाउरेहरु फर्कने क्रम शुरु भएपछि त आमाको पर्खाइको सिमा नै नाध्छ । घरबाहिर रहेका छोराछोरी आउने नआउने पत्तो हुदैन । तरपनि असोज लागेपछि गाउँतिर जाने बसका सिट नहेरी उनले खाना खाँदिनन् । मानौकी उनको काम नै ती बसहरुको ख्याल गर्नु हो । आमाको यस प्रकारको दैनिकी लगभग घर बाहिर रहेका सबै नपुगेसम्म चलिनै रहन्छ ।
झन् छोराछोरी आउने दिन त बिहानैबाट बस आउने बाटो तिर हेरेरै बस्थिन् । बसबाट ओर्लर्दै गर्दा मैलामैला कपडामा हसिलो अनुहारले उनी फिस्स हास्थिन् । आमाको फरासिलो हासोसँगै सबैलाई दशैँ आएको अनुभुती हुन्थ्यो । छोराछोरी नौजवान हुँदासमेत सानै देख्छिन् उनी । घरजाँदा लगेका केही झोलाहरु बालाई समेत बोक्न भन्थिन् । अनि दुई तीनवटा नाती–नातिना भिरेर घरतर्फ उकालो लाग्थिन् । घर पुग्नासाथ पहिल्यै तयार पारेको भात, तिहुन,गोरस ख्वाउथिन् । स्वादको त कुरै नगरौँ ।
परिवारका सदस्यहरु घर पुगेपछि मात्र आमाको दशैँ शुरु हुन्छ । वास्तवमा उनलाई परिवारका सदस्य भएपछि केही चाहिदैन । घरभरी परिवारका सदस्यहरु यत्रतत्र छरिएर बसेको देख्नु उनको जीवनको एकमात्र इच्छा हो । त्यसैले त उनले एकोहोरो छोराछोरीको खुसीकोलागि समय दिने गर्छिन् । कसले के खान्छ ? तरकारी केको खाने ? कस्लाई के कस्तो छ ? एकोहोरो चासोका साथ सोधि रहन्छिन् । तथापि उनले यो सबै खुसी यो साल पाउन सकिनन् । सबैजना दसैँमा घर जम्माहुन नसक्ने खबर सँगै उनको निद हराइ सकेको छ । दशैँ तिहार वा कुनै पनि चाडको रौनक छैन । दसैँ आयो आएन उनलाई ख्याल छैन ।
उमेरले नेटो काटेपनि आमाको उर्जामा कुनै कमि थिएन । दशैँको तयारी राम्रै गरेको थिइन् । उनले छोराछोरीलाई खुवाउन भनेर जम्मा गरी राखेका विभिन्न बस्तुहरु हेरेर चिन्तित हुन्छिन् । मनमनै प्रश्नहरु गर्छिन् । यो जख्खू खसी अब कस्ले खाला ? महिनौ लगाएर थुपरेका चिर्पट दाउरामा कस्ले खाना बनाउला ? धेरै दिन लगाएर बनाएका झिलिङ्गा कस्ले खाला? रोटी बनाउने चामलको पिठोको अब के काम? केटाकेटीले औधी मन पराउने चिनी रोटी अब के अर्थ ?बारिभरी लगाएर फलेका तरकारी अब कस्लाई खुवाउने ? त्यसैगरी सदा झैं चाडवाडमा गरीने गाउँघरको सरसफाई अब कस्का लागि गर्ने ?घर लिपपोत कस्का लागि गर्ने ?पसिना चुहाएर थुपरेको कमेरो, गेरु, कालिमाटीको अब के काम? कस्का लागि गोरेटाबाटो सफा पार्ने ? अmझ सबैभन्दा पीडादायी कुरो त दसैँ आउछ भनेर अब कस्को बाटो हेरेर दिन काट्ने ?
डाँडामाथिको घाम जस्तै उनका के नै इच्छा, अपेक्षा हुन्छन् र ? बस चाडवाडका बेला सबै समयमै घर फर्कुन्, सँगैै चाडवाड मनाउन पाइयोस् । दशैँ जस्ता चाडमा आफ्नो हातको टिको लगाई आशिर्वाद दिन पाइयोस् । सन्ततीको खुसी नै उनको खुसी । छोराछोरी सँगै नभए सम्पत्ति, दौलत भन्ने कुराको कुनै महत्व छैन । त्यसैले त राम्रो सेल पाक्दा, मासुको चोक्टा टोक्दा अन्यलाई टिका लगाइदिँदा आमाले घर आउन नसकेका छोराछोरीलाई सम्झेर आँसु चुहाउछिन् । यस्तो भेटघाट विहीन परिस्थितिले एक्लै रहेका बाआमालाई साच्चै नै मर्महात तुल्याएको हुन्छ ।
कति कहरपूर्ण थिए, आमाका ती दिनहरु । तर उनले दुःख कहिल्यै देखाइनन् । पीडा सहेर पनि बच्चाहरुलाई हँसिलो मुहारले हुर्काइन्, पढाइन् र खुट्टामा उभिन सक्ने अवस्थामा पुराइन् । आमाका शरिर पसिनाले निथ्रुक्कै हुन्थे । शरिर थकित हुन्थ्यो । घरायसी काम गर्दा । तथापि परिवारको खुसीका लागि चाडबाडमा सकेको जोडदाम गर्थिन् । प्रायःपरिवारमा काम गर्न सक्ने बुढाबुढी दुइजना मात्रै हुन्छन् । आर्थिक अभावका कारण उनीहरुले कडा परिश्रम गर्नुको विकल्प हुँदैन ।
आफूले सकेसम्म बच्चाबच्चिलाई स्याहार–सुसार गर्नुदेखि भ्याएसम्म खुसी दिने प्रयासमा आमा सधैँ लाग्थिन् । झन् चाडबाडका बेला त काम भ्याइ-नभ्याइ हुन्थ्यो । पसिनै पसिना हुँदै दसैँका नवमी देखि पूर्णिमा सम्मपुग्ने गरी घास काट्ने, गाईभैसीलाई कुँडो खुवाउने, सरसफाई, लिपपोत र पाहुनाहरुको व्यावस्थापन सबै खुसीसाथ गर्थिन् उनी । तर, आज वर्षौ पछि दसैँनै एक्लै मनाउनु परेको छ । नचाहेर पनि दशैं जस्तो चाडमा छोराछोरीसँग छुटिएर बस्नुपरेको छ ।
विशेषगरी बेरोजगारीको कारण दशैँले आमा लगाएत विछोडिएकाका परिवारमा खुसी दिन सकेको छैन । देशमा बेरोजगार समस्या छ । रोजगारी पाउन नेपालीहरु विश्वका कुना कुना धाउनु परेको छ । जसले पारिवारिक विछोड निम्तायको छ । रोजगारको सिलसिलामा दसैँमा समेत घर आउन नपाएका कैयन छन् । विदेश रहेकालाई पनि ती निकट मनहरुसँग सधै सँगै रहन मन हुन्छ । सँगै हास्न, खेल्न रहर हुन्छ । दुःखसुख साट्ने चाहना हुन्छ । सँगै हातेमालो गर्ने इच्छा हुन्छ ।
तर, यस्तो रहर केवल रहरमा मात्र सिमित हुन परेको छ । बैदेशिक रोजगारीले लाखौ नेपालीको खुसी गुमेको छ । केवल श्रमको खोजीमा । जीवन यापनको खोजीमा । अन्ततोगत्वा सुखको खोजीमा । सुखद भविष्यको चाहनामा । गुमेको खुसी न पुनः प्राप्त गर्न सम्भव छ । न व्यतित भएको उमेर नै फर्काउन सकिन्छ । कसैको पनि आर्जनले गुमेको खुसी, उमेर, जवानी, वात्सल्यता, मातृत्व, अभिभावकत्व, भाइचाराको क्षतिपूर्ति दिन सक्दैन । तर, कैयौँ युवाहरु विवश छन् ।
आमा आम नेपालीकी एक प्रतिनिधि पात्र हुन् । आम गरिब, मध्यम वर्गीय परिवारकी एक उदाहरण हुन् । यस्ता आमाहरु गरिबी, अभावसँग त सिघौरी खेल्न अभ्यस्त छन् नै । आर्थिक कष्ट त खेपेकै छन्। आफूँले नखाएर भएपनि छोराछोरीलाई ख्वाएकै छन् । उनीहरुको आर्थिक अवस्था नसुधारिनुमा राजनैतिक दल र सरकारहरु जिम्मेवार छन् । शासन सत्ता, पात्र फेरिएपनि गरिब उन्मुख कार्यक्रमहरु आउन नसकेका कारण अझै कति समय यस्तै पीडामा बस्नुपर्ने हो निक्र्यौल छैन । झन् त्यो भन्दाबढी पीडादायी आमा जस्ता धेरै आमाहरुले पारिवारिक विछोडकाबीच यसपालीको दसैँ बिताउनु परेको छ ।जसका कारण उनमा मानसिक पीडा थपिएको छ ।
घुमिफिरी ०७९ दसैँको दिनपनि आयो । गाँउमा थोरै भएपनि पिङ हाले । केटाकेटीहरु पीङ्मा मच्चिए । मिठो मसिनो खाए । जम्मा हुन सकेका हरु टिका लगाएर खुसी साटा–साट गरे । अहँ,आमाले त्यो सब सहन सकिनन् । आमाका आखाँ ओबानो हुन सकेनन् । परिवारका सदस्यहरु जम्मा हुँन नपाउँदाको पीडा आँसुमा उद्वेलित भए । उनले आँसु रोक्न सकिनन् । आशा छ छिटै नेपालमा रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनेछन् । स्वरोगजारको वातवरण सिर्जना गर्न सरकारहरु जिम्मेवार बन्ने छन् । पारिवारिक भेटघाट सहज हुनेछ । त्यसपछि आमाका लागि दशैँ आउनेछ । आमाहरुका ओठमा मुस्कान देखिनेछ । र आँसु बग्न छाड्नेछन् ।
प्रतिक्रिया