ताजा अपडेट »

दशैं एक : अवसर अनेक

बुधबार, १९ असोज २०७९

दशैँ नजिकिदै जाँदा गाउँशहरमा उत्साहजन्य चहलपहल शुरु हुन्छ । बजार जुर्मुराउछ, व्यस्त हुन्छ । सबै यातायात रुटमा गाडीहरुको व्यस्तता बढ्छ । एक ठाउँ छोडेर अर्को ठाउँमा जानेहरुको हतारो हेर्न लायकको हुन्छ । दशैँ मान्नको लागि एक ठाउँदेखि अर्को ठाउँमा जानेहरु मात्र हैन, दशैँ मान्दै नमान्ने र मान्न नहुनेहरुले समेत दशैमा घर जाने, दशैमा साथीभाई र आफन्त भेट्ने र घुम्ने योजना बनाएका हुन्छन । दशैँ आफन्त चिन्ने र चिनाउने अवसर मात्र नभएर गाउँ ठाउँ डुल्ने र चिन्ने अवसर पनि हो । पछिल्लो समयमा गाउँ छोडेर शहर पस्ने प्रवृति बढ्दो छ ।यसले गर्दा अधिकांश बालबालिकाहरु आफ्नो पुर्खाको थातथलोलाई चिन्ने पाएका छैनन् ।

इन्टरनेटले विश्वलाई साँघुरो बनाइरहेको छ भनिरहदा आफ्नै वनजंगल र पाखापखेराहरु, सभ्यता र सम्पदाहरु मानिसहरुबाट टाढिदै गैरहेका छन् । स्थानीय क्षेत्रमा भएका पुरातात्विक र साँस्कृतिक सम्पदाहरु, वन जंगलका विशिष्टता र महत्व, नदि ताल तलैयाहरुको बारेमा पछिल्लो पुस्ताले ज्ञान गुमाउदै गएको छ । जीवन र जगतलाई चिन्ने बुझ्ने सबै भन्दा राम्रो उपाय घुमघाम भन्दा अरु केहि हुन सक्दैन । प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न घुमघामबाटै सम्भव छ । विगतमा दशैको समयमा देश विदेश घुम्न, रमाईलो गर्न जाने प्रवृति विकसित भएपनि अढाई वर्षदेखि कोरोना र आर्थिक मन्दीले गर्दा त्यसमा केहि कमि आएको छ । तर देशभित्र रहेका धार्मिक सास्कृतिक र प्राकृतिक स्थल यो समयमा सजिलै घुम्न सकिन्छ ।

यसपाली वर्षाको जोखिमले गर्दा धेरैलाई बाहिर घुम्न जान मन नलाग्न सक्छ. अझ पछिल्लो समयमा डेंगुको संक्रमण बढी भएको ठाउँमा त घुम्न जानु जोखिम हुने भएकोले घुमफिर गर्ने मन हुदाहुदै पनि घुमफिर गर्न सकिदैन । यस्तो अवस्थामा समय विताउन र दशैँ विदालाई उपयोगी बनाउनको लागि पुस्तक अध्ययन गर्नु राम्रो हुन्छ । अरु समयमा पुस्तक अध्ययन हतारोको काम हुन्छ । दशै तिहार विदामा समय दिएर पुस्तक अध्ययन गर्न पाइने र पुस्तकमा उल्लेखित कुराहरुको टिपोट गर्न, विश्लेषण गर्न, तुलना गर्न सकिने भएकोले पुस्तक अध्ययनले सिप , बौद्धिक क्षमता र सिर्जनात्मक क्षमता बढाउने अवसर मिल्छ ।

व्यक्ति अनुसार अध्ययन रुची अलगअलग हुन्छ । तैपनि चाडबाडको सांस्कृतिक माहौल र रमाईलोपन हुने भएकोले त्यसै अनुसारका पुस्तकहरु छनौट गर्नु उपयुक्त हुन्छ । रमाइलो महसुस गर्न चाहनेहरुको लागि उपन्यास, कथा कविताका पुस्तकहरु उपयोगी मानिन्छन । बिपी कोइराला, बुद्धिसागर, नयनराज पाण्डेका उपन्यासमा कथा, ब्यथा र आञ्चलिकता अटाउने भएकोले सबै उमेर समुहका लागि उत्कृष्ट हुन सक्छन । पछिल्लो समयमा आएका फातसुंग, महारानी, कान्छी महारानी, मोक्षभुमी, बाढी, सती, ईजोरिया जस्ता उपन्यास दशैका लागि उपयोगी हुन सक्छन ।

कर्मचारी, शिक्षक, राजनैतिक व्यक्तित्वहरुलृ लागि भूगोल र इतिहासका साथै जीवनी, आत्मकथाको अध्ययन गर्नु राम्रो हुन्छ । वसन्त पोखरेलको पन्ध्र प्रवन्ध, विष्णु प्रसाद अधिकारीको पाल्पा राज्यको इतिहास, कर्ण बहादुर बानियाको नेपालको इतिहासमा उजिर सिंह थापाको योगदान, पुरुषोत्तम शमसेर जबराको श्री ३ को तथ्य वृतान्त, राजेश्वर देवकोटाको नेपालको राजनीतिक दर्पण, सरदार भिम बहादुर पाँडेको त्यस बखतको नेपाल र सुब सेनको सेन बंशको इतिहास र पालपाली सेन जस्ता पुस्तकहरु लुम्बिनी प्रदेशका पाठकको लागि उपयुक्त पुस्तक हुन् । यो क्षेत्रको साँस्कृतिक पर्यटकीय सम्पदाको बारेमा जानकारी लिनको लागि सैनामैना नगरपालिकाले प्रकाशन गरेको सैनामैना दर्पण, प्रा.डा. गीतु गिरीका सम्पदा र पर्यटन सम्बन्धि पुस्तक अध्ययन गर्दा आफ्नो समाज, इतिहास र प्रदेशलाई बुझ्न सकिन्छ ।

सप्तमी पछि पुस्तक पसलहरु र पुस्तकालयहरु बन्द हुने भएकोले भनेको समयमा पुस्तक प्राप्त गर्न कठिन हुन्छ । त्यसैले पहिलेनै पुस्तकको जोहो भने गरेको हुनुपर्छ । डिजिटल माध्यममा पुस्तक पढ्न चाहनेहरुको लागि निशुल्क पुस्तक पढ्न र डाउनलोड पढ्न पाइने थुप्रै वेवसाइट छन् । पुस्तकालय डट ओआरजी, इ–पुस्तकालय डट कम, डिजिटल हिमालय, ४४ बुक्स जस्ता साइटमा हजारौ पुस्तकहरु निःशुल्क पढ्न पाइन्छन् ।

दशैँ तिहार बिदामा घुम्न जानै पर्छ, पुस्तक पढेर र इन्टरनेट चाहारेर बस्नुपर्छ भन्ने हुदैन । अन्य काम नभएर फुर्सद हुनेहरुका लागि यी कामहरु विकल्प हुन तर गाउँमा घर भएका र खेतीपाती भएका सबै समुहहरुको लागि यो समय कृषिलाई बुझ्ने र फरक काम गर्न उपयुक्त समय हो । विगत अढाई वर्षमा कोभिडको बन्दाबन्दीमा धेरैजसो युवा र विद्यार्थीहरुले गाउघरमै धेरै समय विताएपनि कोरोना कहर सकिएपछी शहर फर्केकोेले कृषिलाई बुझ्ने चेष्ठा नै गरेनन् ।

अहिलेसम्मको अभ्यासले विपदमा पनि कृषिले साथ दिन्छ भन्ने पुष्टि गरेको छ । त्यसैले दशैँ बिदाको समयमा आफ्नो गाउँठाँउको कृषिलाई बुझ्ने, समस्या र सम्भावनाहरु खोजि गर्ने, कृषि, पशुपालन र जडीबुटी सम्बन्धि परम्परागत ज्ञानलाइ लिपिवद्ध गर्ने, पाका पुस्ताहरुसंग परम्परागत ज्ञान र सिप हासिल गर्ने अनि इन्टरनेटबाट खोजेर वा अन्य माध्यमबाट जानकारी लिएर परम्परागत कृषि र प्रकृति सम्बन्धि सीपमा समयानुकूल सुधार गर्न मद्दत गर्न र आफ्नो क्षेत्रमा रहेका विशेषताहरुलाई फैलाउने काम गर्नु पर्छ । चाडबाडको बेलामा गाउँ घरमा पाहुना हुन मात्र जाने हैन कि गाउँघरलाई रुपान्तरण गर्न जाने गर्यौं भने गाउँघरको बसाई सार्थक बन्न सक्छ।

लामो समय आफ्नो गाउघर र समाजसंग टाढा बस्दा धेरै मानिसहरुले आफ्नो थलोलाई भुलिरहेका छन् । गाउँघरका आवस्यकता र समस्या बुझ्ने मानिसको कमि भैरहेकोछ । विगतमा दशैंको मौका पारेर बाटोघाटो,पुलपुलेसा, मठमन्दिर, स्कूल बनाउने, मर्मत गर्ने चलन थियो । अहिले यसमा धेरै कमि आएको छ । हरेक काम सरकारले गरिदिनुपर्छ भन्ने मान्यताको विकास भैरहेको छ । यस्तो सोचले समाजको लागि आवस्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न, व्यवस्थापन गर्न र संरक्षण गर्न कठिन भैरहको छ । स्थानीय बासिन्दालाई परिचालन गर्न सकिएन भने स्थानीय विकासको कामहरु गर्न सकिदैन । चाडको छुट्टीको बेलामा गाउँ पुगेर गाउँमा केहि छैन भन्दै गाउँघरलाई गालि गर्ने काम छोडेर छुट्टीमा गाउँमा गएको बेलामा गाउँलाई कसरि विकसित र सुविधा सम्पन्न बनाउने भन्ने बारेमा योजना बनाउन र सबै मिलेर योजना सफल बनाउन काम गर्न अघि सर्नु राम्रो हुन्छ ।

चाडबाड आँगनमा आएका छन् । चाडले धेरैलाई गाउँ फर्काएको छ, फुर्सदिलो बनाएको छ । आफ्नै गाउघरमा फर्कन पाएका भाग्यमानिहरुले फुर्सदको समयमा आफ्नै गाउघरको हित, कृषिको विकास जस्ता काममा आफुलाई व्यस्त बनाउनु पर्छ । गाउँघर फर्कन नपाएका वा घरभित्र बस्न बाध्यता भएकाहरुले आफुलाई अध्ययनमा व्यस्त राख्नु र मौसमी फेरबदलबाट आफुलाई सुरक्षित राखेर घुम्दै सिकाई गर्नु उपयुक्त हुन्छ । चाडबाड समाज, थलो, सभ्यता र आफैलाई सिक्ने, चिन्ने अवसर हो । नयाँ सोँच विकास गर्ने र नयाँ काम गर्ने अवसर पनि हो. यो अवसर सदुपयोग गर्न जागर सबैमा पलाओस्, दशैँ तिहार सबैको लागी सुखद , उल्लासमय र सम्झन लायक बनोस् ! यहि कामना [email protected]